काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् ।
मंगलबार अर्थ मन्त्रालयमा सम्पन्न अन्तक्रिर्यामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स एण्ड कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एशोसिएसन, चौधरी समूह र भाटभटेनी समूहका प्रतिनिधिहरूको समेत उपस्थिति थियो ।
निजी क्षेत्रका प्रतिनिधिहरूले नवनियुक्त अर्थमन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उद्योग व्यवसायको सुरक्षा र प्रवर्द्धन गर्न माग राखेका थिए ।
उद्योग व्यवसायमा पुगेको क्षतिपूर्ति छिटो उपलब्ध गराउने, कर सहुलियत, सहुलियतपूर्ण कर्जा र बीमा रकम शीघ्र भुक्तानीको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिएको थियो ।
साथै सरकार, राजनीतिक दल, सञ्चार माध्यम र नागरिक समाजले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन गर्नुपर्ने माग पनि निजी क्षेत्रले राखेका थिए ।
अन्तरक्रियामा अर्थसचिव घनश्याम उपाध्यायले दशैंबाहेक अन्य सार्वजनिक बिदामा पनि बैंक र भन्सार खुला राख्ने निर्णय भएको र तातोपानी नाका खुलाउनका लागि सरकारले पहल गरिरहेको जानकारी दिए ।
उद्योग व्यवसायीलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले अटो सेक्टर थापाथली, भाटभटेनी सुपरस्टोर कोटेश्वर, अन्नपूर्ण र कान्तिपुर मिडिया हाउस र ट्राफिक प्रहरी कार्यालयलगायतका क्षतिग्रस्त संरचनाहरूको स्थलगत अवलोकन गरेको बताए ।
उनले सार्वजनिक र निजी क्षेत्रमा पुगेको क्षतिको पुनर्निर्माणका लागि कोष खडा भइसकेको र समग्र व्यवसाय पुनःस्थापना योजना ल्याइने जानकारी दिए ।
अर्थमन्त्रीले कर र मौद्रिक नीतिबाट दिन सकिने सहुलियतमा सरकार सकारात्मक रहेको बताउँदै सबै सार्वजनिक निकायलाई नागरिक र निजी क्षेत्रले प्रत्यक्ष महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिइसकेको जानकारी दिए ।