भोजपुर-लेगुवा र देउराली-चखेवा सडक अवरुद्ध हुँदा समस्या

काठमाडौं । भोजपुर जिल्लामा अवरुद्ध यातायात सेवा सञ्चालनको तयारी थालिएको छ । शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षाका कारण बाढी पहिरोले सडक अवरोध भएका थिए । 

भोजपुर-लेगुवा सडक र देउराली-चखेवा सडकका केही स्थानका पहिरो हटाउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वर्षासँगै पहिरो खस्ने, सडक भासिने र दुर्घटनाको जोखिम देखिएकाले यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

यातायात अवरुद्ध हुँदा लामो दूरीमा यात्रा गर्ने यात्रुहरू अलपत्र परेका छन्, भने आवश्यक सामान आपूर्ति र जनजीवनमा समेत असर परेको छ । विशेषगरी जिल्ला बाहिर जाने, दसैँ मान्न हिँडेका यात्रु, कामकाजका सिलसिलामा यात्रा गर्ने सर्वसाधारण बढी प्रभावित भएका छन् । 

यातायात व्यवसायी समितिका प्रतिनिधिले सडक अवस्था सामान्य हुनासाथ पुनः सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् । हाल वर्षाका कारण जिल्लाभित्रका कतिपय ग्रामीण सडक पनि अवरुद्ध भएपछि स्थानीय बासिन्दा थप समस्यामा परेको जनाइएको छ ।

Share News