काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र हामी नेपालका संस्थापक सुदन गुरुङ विरुद्ध किटानी जाहेरी दर्ता गर्न प्रहरीकोमा पुगेको छ ।
मेयर बालेन शाह र गुरुङलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने मागसहित अनेरास्ववियुका पूर्व अध्यक्ष समिक बडालको नेतृत्वमा अखिलका नेताहरू जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका हुन् ।
बालेन र सुदनमाथि सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरेको, निजी सम्पत्तिमा क्षति पुर्याएको र प्रहरीहरूको हत्या गरेको आरोप लगाइएको छ ।
अखिलका महासचिव दीपक धामीले जेनजी आन्दोलनलाई योजनाबद्ध राजनीतिक हिंसा भन्दै निष्पक्ष छानबिनको माग गरे । न्यायिक प्रक्रियामार्फत दोषीलाई कारबाही गर्नुपर्ने र राजनीतिका नाममा अराजक गतिविधि सह्य नहुने उनको चेतावनी छ ।