सरकारको ११ देशका राजदूत फिर्ता बोलाउने, भारतका लागि डा. शर्मा भने यथावत

काठमाडौं । सरकारले विभिन्न देशमा कार्यरत ११ जना नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । 

परराष्ट्र मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले चीन, अमेरिका, बेलायत, जापान, जर्मनी, साउदी अरेबिया, स्पेन, मलेसिया, इजरायल, कतार र रुसका लागि नियुक्त राजदूतलाई कात्तिक २० भित्र फिर्ता बोलाउने निर्णय गरेको हो ।

फिर्ता बोलाइएका अधिकांश राजदूत अघिल्लो सरकारले राजनीतिक कोटाबाट नियुक्त गरेका थिए । तीमध्ये जापानका लागि राजदूत दुर्गाबहादुर सुवेदी भने परराष्ट्र सेवाबाट आएका हुन्।

यद्यपि भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा भने यथावत राखिएका छन् । उनी पनि राजनीतिक नियुक्तिमार्फत राजदूत बनेका थिए ।

फिर्ता बोलाइएका राजदूतहरू :

डा. कृष्ण प्रसाद ओली – चीन
लोकदर्शन रेग्मी – अमेरिका
चन्द्र घिमिरे – बेलायत
नेत्र तिम्सिना – मलेसिया
शैल रुपाखेती – जर्मनी
धनप्रसाद पण्डित – इजरायल
जंगप्रसाद चौहान – रुस
सनिल नेपाल – स्पेन
रमेशचन्द्र पौडेल – कतार
नरेशविक्रम ढकाल – साउदी अरेबिया
दुर्गाबहादुर सुवेदी – जापान

यसैगरी, सरकारले सार्वजनिक वित्त व्यवस्थापनलाई मजबुत बनाउन विश्व बैंकबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलरको अनुदान स्वीकृत गर्ने निर्णय भएको छ ।

नेपाल–भारतबीच विद्युत् व्यापारलाई बढावा दिनका लागि दुईवटा प्रमुख ४ सय केभी अन्तरदेशीय प्रशारण लाइनहरू निर्माण गर्न भारतीय कम्पनीहरूसँग संयुक्त लगानी स्थापना निर्णय पनि भएको छ ।

त्यस्तै, पूर्वी नेपालको इनरुवा–पुर्णिया ४ सय केभी प्रसारण लाइन र सुदूरपश्चिमको दोधारा–बरेली ४०० केभी अन्तरदेशीय लाइन निर्माणको जिम्मेवारी गर्न अनुमति प्रदान गर्ने निर्णय पनि भएको छ ।

Share News