विराटनगर । हालैको भीषण वर्षा र बाढी–पहिरोबाट प्रभावित इलामका बाढीपीडितका लागि मोरङ उद्योग व्यापार संघले २५० थान कम्बल सहयोग गरेको छ।
संघले बिहीबार राहत स्वरूप पठाइएका कम्बलहरू उद्धार कार्यमा संलग्न स्रष्टा नेपालकी अध्यक्ष बिन्दीया कार्कीमार्फत हस्तान्तरण गरेको हो ।
कम्बल हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष अनुपम राठी, निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालका साथै संघका अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो ।
अध्यक्ष राठीले सहयोग सानो भए पनि पीडित समुदायको दु:खमा सघाउने प्रयास भएको बताए ।
त्यस्तै, निवर्तमान अध्यक्ष रिजालले इलाममा दर्जनौं नागरिकले ज्यान गुमाउनु परेकोप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारले राहत र पुनःस्थापनामा तीव्रता ल्याउनुपर्ने बताए ।