काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औं महाधिवेशन यही मंसिर महिनाभित्र सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव गरेका छन् । थापाले दुई विकल्पसहित महाधिवेशनको विस्तृत कार्यतालिका पेश गरेका हुन् ।
पहिलो विकल्पअनुसार मंसिर २७ देखि २९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
थापाले पेश गरेको कार्यतालिकामा कात्तिक २१ सम्म नयाँ सदस्यता वितरण तथा नवीकरणको इन्ट्री गर्ने, मंसिर ७ मा क्रियाशील सदस्यहरूको नामावली निर्वाचन समितिमा बुझाउने र मंसिर १२–१३ मा वडा अधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।
यस्तै, मंसिर २१ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, केन्द्रीय प्रतिनिधि चयन र जनसम्पर्क समिति अधिवेशन सम्पन्न गरी अन्ततः मंसिर २७ देखि २९ भित्र केन्द्रीय महाधिवेशन गर्ने योजना रहेको छ ।
दोस्रो विकल्पमा भने सबै तहको अधिवेशन चरणबद्ध रूपमा सम्पन्न गर्ने प्रस्ताव गरिएको छ । सोअनुसार मंसिर ५ बाट वडा अधिवेशन सुरु गरी, मंसिर २१ मा प्रदेश अधिवेशन र मंसिर २७–२९ मा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने तालिका प्रस्तुत गरिएको हो । थापाले विधान संशोधनमार्फत क्रियाशील सदस्यबाटै सिधा नेतृत्व चयन गर्न सकिने सम्भावनासमेत उल्लेख गरेका छन् ।
महामन्त्री थापाले क्रियाशील सदस्यता नवीकरणमा लचकता अपनाउने प्रस्ताव पनि गरेका छन्। । उनका अनुसार १४औं महाधिवेशनमा सहभागी भएकामध्ये मृत्यु भएका र पार्टी परित्याग गरेका बाहेक सबै सदस्यको सदस्यता स्वतः नवीकरण भएको मान्ने सकिने छ ।
यद्यपि क्रियाशील सदस्यता व्यवस्थापन समितिका अनुसार असोज मसान्तसम्म ८१ प्रतिशत सदस्यता नवीकरण भइसकेको भए पनि इन्ट्री कार्य अझै बाँकी रहेको छ ।
२८ असोजदेखि जारी केन्द्रीय समितिको बैठकमा भने महामन्त्री थापाको प्रस्ताव पेश हुन सकेको छैन । संस्थापन पक्षीय नेताहरू मंसिरमा महाधिवेशनको पक्षमा नरहेकाले थापाको कार्यतालिका अगाडि बढ्न नसकेको हो ।
तर, महामन्त्री थापा, विश्वप्रकाश शर्मा र डा. शेखर कोइरालाको समूह मंसिरमै नियमित महाधिवेशन हुनुपर्ने अडानमा छन् । उनीहरूका अनुसार यदि मंसिरमा महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनमा जानुपर्नेछ ।