काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं केन्द्रीय कमिटी बैठक ललितपुरको जावलाखेलमा मंसिरमा महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । एमालेले आफ्नो ११ औ महाधिवेशन मंसिर २७ देखि २९ सम्म पोखरामा गर्ने भएको छ ।
नेपालको समसामयिक राजनीतिक परिदृश्य, विशेषतः भदौ २३ को जेनजी प्रदर्शन पछिको यो बैठक पार्टीका लागि गहिरो समीक्षा, चिन्तन र पुनर्संरचनाको अवसर बन्न पुगेको छ ।
यो बैठक केवल आन्तरिक छलफलको औपचारिकता मात्रै थिएन, यसले एमालेको भविष्यको दिशा, नेतृत्वको मर्म र संगठनात्मक आधारमा पुनरावलोकन गर्ने महत्त्वपूर्ण क्षण सिर्जना गरेको एमाले नेताहरूले बताउँछन् ।
बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदन, संगठनात्मक समीक्षा, आगामी महाधिवेशनको तयारी मुख्य कार्यसूची थिए । यस्तै, समसामयिक राजनीतिक मूल्यांकनका विषयमा एमाले नेताहरूले खुलेर छलफल गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक सम्बोधनमा पार्टीलाई अनुशासित, समर्पित र व्यवहारिक ढंगले अघि बढाउने विषयमा जोड दिए । उनले स्पष्ट रूपमा भनेका छन्, ‘हामी केवल प्रतिक्रिया होइन, नेतृत्वको जिम्मेवारी बहन गर्नुपर्ने अवस्थामा छौं ।’
बैठकमा पोलिटब्युरो र स्थायी कमिटीसहित १५० भन्दा बढी केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । पहिलो दिनमै ५० जनाले प्रतिवेदनमाथि टिप्पणी गरेका थिए । बैठकमा उठेका विचारहरू बौद्धिक, आत्मसमीक्षात्मक र केही स्थानमा आलोचनात्मक पनि रहेको नेताहरूले बताएका छन् ।
अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा भदौ २४ को प्रदर्शनलाई राष्ट्र, संविधान र लोकतन्त्रविरुद्धको सुव्यवस्थित षड्यन्त्रका रूपमा व्याख्या गर्दै त्यसलाई प्रतिगमनको निरन्तरता भएको बताए ।
तर केही नेताहरूले यो विश्लेषणलाई अति एकपक्षीय भएको ठहर गर्दै जनआक्रोशलाई बुझ्ने प्रयास हुनु आवश्यक रहेको धारणा राखे । जनमत, असन्तुष्टि र विरोधको प्रकृतिलाई समग्र रूपमा अध्ययन गर्नुपर्ने सुझाब पनि बैठकमा आएको अर्का एक नेताले बताए ।
ती नेताका अनुसार भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र राजनीतिक जवाफदेहिताका सवाल बैठकमा विशेष रूपमा उठेका थिए ।
ओलीको प्रतिवेदनले कानुनी संरचना सुदृढीकरण र निष्पक्ष कारबाहीका विषय उठाए पनि नेताहरूको चिन्ता थियो– कथन धेरै, काम कम भयो । धेरैजसो नेताका धारणा कार्यान्वयन तहमा ध्यान केन्द्रित गर्नुपर्ने पक्षमा केन्द्रित रहेको ति नेताले बताए ।
बैठकमा केही सदस्यहरूले प्रत्यक्ष रूपमा ओलीको नेतृत्व अब बोझ हुँदै गएको भन्दै वैकल्पिक नेतृत्वबारे सोच्नुपर्ने र त्यसका लागि ओलीले मार्ग प्रशस्त गर्नुपर्ने रायसमेत राखेको नेताहरूले बताएका छन् ।
अध्यक्ष ओलीले त्यसप्रति प्रतिक्रिया दिँदै भने, ‘सामाजिक सञ्जालले भनेर होइन, पार्टीको निर्णयले म पदमा बस्ने या नबस्ने हो । यदि केन्द्रीय कमिटीले निर्णय गर्यो भने म एक मिनेट पनि यो कुर्सीमा बस्दिनँ ।’
अध्यक्ष ओलीले अहिल्यै राजीनामा नदिनेसमेत बताएका छन् । केन्द्रीय कमिटी बैठकलाई समापन सम्वोधन गर्दै ओलीले आफ्नो काँधमा केही जिम्मेवारी रहेको दोहोर्याए ।
ओलीले भने, ‘मेरो काँधमा केही जिम्मेवारी छन्, ती पुरा नहोउञ्जेल राजीनामा दिन्नँ ।’
ओलीले महाधिवेशनको फैसला मान्ने भन्दै महाधिवेशन पछि नेतृत्व हस्तान्तरण गर्न सक्ने संकेत गरे ।