काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लवले ‘एकीकृत स्वामित्व अवधारणा’अन्तर्गत कृषि उत्पादनमा आधारित उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले उक्त निर्णय सार्वजनिक गरेको हो ।
महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीको उक्त योजना बारे जानकारी गराएका हुन् ।
उनले पार्टीले लामो समयदेखि उत्पादनसँग पार्टी गतिविधिलाई जोड्दै आएको उल्लेख गर्दै यो वर्ष वर्षेबाली उत्पादन अपेक्षाकृत राम्रो भएको जानकारी दिए ।
साथै आउँदो हिउँदे बालीलाई पनि थप व्यवस्थित र वैज्ञानिक ढंगले उत्पादन गर्ने रणनीति लिइएको उनले जानकारी गराए ।
महासचिव विप्लवले पार्टीले अगाडि सारेको नयाँ आर्थिक मार्ग अन्तर्गत आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशामा महत्त्वपूर्ण प्रगति भइरहेको बताए । उनले उक्त मोडेलबाट उत्साहजनक आर्थिक परिणामहरू देखिएको दाबी गरे।
विप्लवका अनुसार उत्पादनमूलक अर्थतन्त्र र सामूहिक स्वामित्वमा आधारित उद्योगमार्फत सामाजिक र आर्थिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित पार्टी अघि बढिरहेको छ ।