काठमाडौं । गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई कडा निर्देशन जारी गरेको छ ।
गृहसचिव रामेश्वर दंगालले आइतबार सचिवस्तरीय निर्णय गर्दै शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन, नियमन र समन्वयलगायतका ११ शीर्षकमा सात पृष्ठ लामो निर्देशन सीडीओहरूलाई पठाएका हुन् ।
स्थानीय प्रशासनलाई थप जिम्मेवार, उत्तरदायी र जनमुखी बनाउँदै जनतामा राज्यप्रति भरोसा बढाउने खालको सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको हो ।
सचिव दंगालले शान्ति सुरक्षासम्बन्धी निर्देशनमा ९ वटा बुँदा समेटेका छन् । उनले अपराध नियन्त्रणका लागि ३ बुँदा र आसन्न निर्वाचन तयारीका सन्दर्भमा ५ बुँदामा स्पष्ट निर्देशन दिएका छन् ।
निर्देशनमा सार्वजनिक सेवा प्रवाहमा सहजता र प्रभावकारिता ल्याउनुपर्ने भनिएको छ । सीडिओहरूलाई स्थानीय निकाय, सुरक्षा निकाय र संघीय निकायहरूसँग समन्वय सुदृढ गर्नु र व्यक्तिगत आचरणको मर्यादा कायम राख्न समेत निर्देशन दिइएको छ ।
निर्देशनमा भनिएको छ, ‘सेवा लिने नागरिकसँगको व्यवहारमा संवेदनशील हुनुपर्ने र सरकारको कामप्रति जनताको विश्वास अभिवृद्धि गर्नुपर्ने छ ।’