काठमाडौं । चालु आर्थिक वर्षका लागि कूल ६ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखिएकामा हालसम्म ४ लाख ७१ हजार ३ सय मेट्रिक टन बराबरको बोलपत्र आह्वान भएको छ । किसानलाई सहज रुपमा रासायनिक मल उपलब्ध गराउने लक्ष्य अनुसार सरकारले आवश्यक प्रबन्ध मिलाएको स्पष्ट पारेको छ ।
रासायनिक मल आयातका लागि सरकारले २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार, गत असोज मसान्तसम्म १ लाख ९४ हजार ८५ मेट्रिक टन मल आपूर्तिको चरणमा छ ।
त्यसमा कृषि सामग्री कम्पनीको यूरिया ३३ हजार ३३८ मेट्रिक टन, साल्ट ट्रेडिङ कर्पोरेसनको ५७ हजार ६७० मेट्रिक टन बराबर छ । कृषि सामग्री कम्पनीले यूरिया, डिएपीसमेत गरी कूल १ लाख १५ हजार ४०५ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेसनले ७८ हजार ६८० मेट्रिक टन बराबरको मल आपूर्ति गरेको छ ।
मन्त्रालयका अनुसार, हाल १ लाख ८ हजार ९०८ मेट्रिक टन मल भने मौज्दात छ । त्यसमा कृषि सामग्री कम्पनीमा डिएपी, यूरिया, पोटास समेत गरी कूल ६३ हजार ८ सय मेट्रिक टन र साल्ट्र ट्रेडिङ कर्पोरेसनमा ४५ हजार १०८ मेट्रिक टन बराबर रासायनिक मल मौज्दात छ ।
हिउँदे खेतीलाई पर्याप्त मात्रामा रासायनिक मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ । गत साउनदेखि असोज मसान्तसम्म १ लाख ३२ हजार ८०७ मेट्रिक टन मल बिक्री भएको मन्त्रालयले जनाएको छ ।