मेची भन्सारमा लक्ष्यको ९५ प्रतिशत राजस्व असुली

काठमाडौं । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक अवधिमा लक्ष्यको ९५ प्रतिशत राजस्व असुली गरेको जनाएको छ । पूर्वी नाका काँकडभिट्टा स्थित भन्सार कार्यालयले चालु आवको साउन, भदौ र असोज महिनामा ४ अर्ब ३६ करोड २८ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ४ अर्ब १५ करोड २० लाख ८ हजार रुपैयाँ असुली गर्न सफल भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी राजस्व आयातित सामानको भन्सार महसुलतर्फ १ अर्ब ८० करोड ५३ लाख ७९ हजार ५४९ रुपैयाँ असुली भएको छ । आयातित सामानको मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ४९ करोड २३ लाख ६४ हजार ३९३ रुपैयाँ, सडक मर्मत तथा सुधार दस्तुरतर्फ १३ करोड १७ लाख १२ हजार रुपैयाँ, आयातको अन्तः शुल्कतर्फ ११ करोड ३ लाख ५९ हजार ९३ रुपैयाँ, निर्यातको भन्सार महसुलतर्फ १० करोड ६२ लाख १० हजार १२४ रुपैयाँ र पूर्वाधार करतर्फ ३९ करोड ५३ लाख ६० हजार रुपैयाँ राजस्व असुली भएको भन्सारको त्रैमासिक प्रगति विवरणमा जनाइएको छ ।

जेनजी आन्दोलनबाट प्रभावित मानिएको चालु आवको गत असोज महिनामा समेत भन्सारले लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । मासिक लक्ष्यको १०१ प्रतिशत राजस्व असुली गर्न सफलता मिलेको भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयले असोज महिनामा १ अर्ब ५० करोड ४९ लाख २४ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य लिएको थियो । तर, सो अवधिमा १ अर्ब ५२ करोड २४ लाख ९० हजार रुपैयाँ राजस्व असुली गरेको सूचना अधिकारी हुमागाइँको भनाइ छ ।

Share News