जेनजी आन्दोलनपछि भारत गएका थिए खड्का, सेनाको सुरक्षामा बसेको अभिव्यक्ति

‘२४ गते घरमै थिएँ, उपचार गर्न भारत गएँ’

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देश छाडेर भागेको भनिएका निवर्तमान ऊर्जामन्त्री दीपक खड्का स्वदेशमै रहेको पाइएको छ । जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नै निवास अगाडि पत्रकार सम्मेलन गर्दै उनी सार्वजनिक भएका हुन् । 


गृहमन्त्री अर्यालले एक दैनिक पत्रिकासँग कुरा गर्दै खड्का विदेश भागिसकेको र अरु भाग्य प्रयास गरिरहेको धारणा राखेका थिए । तर, खड्का भिडियोमार्फत् काठमाडौंस्थित आफ्नो जलेको घरबाटै सार्वजनिक भएका हुन् । 

खडकाले सोमबार पत्रकारहरुसँग कुरा गर्दै सरकारसँग नडराउने बताएका छन् । ‘सरकारले मलाई वारेन्ट काटेको छ र ? बाहिर जान रोक लगाएको छ र ?’ पूर्वमन्त्री खड्काले प्रश्न गरे, ‘म भागे भन्न मिल्छ ? झिनामसिना कुराले मलाई छुँदैन । म डराउँदिनँ ।’

उनले जेनजी आन्दोलनका क्रममा २४ भदौका दिन आफू घरमै रहेको पनि जानकारी दिए । 

पूर्वमन्त्री खड्काले घरबाट निस्किएर छिमेकीमा बसेको र राति नेपाली सेनाको ब्यारेकमा बसेको पनि जानकारी दिए । खड्काले तराईबाट आफू सोझै उपचारका लागि भारत गएको पनि बताए । 

Share News