लक्ष्मी पूजाको दिन देशभर १६ सय ५० मेगावाट विद्युत खपत, काठमाडौं उपत्यकामा मात्र ४०२.५ मेगावाट

काठमाडौं । तिहारको मुख्य दिन मानिने लक्ष्मी पूजाका दिन देशभर विद्युत् उच्च माग (पिक डिमाण्ड) १६ सय ५० मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १ हजार ६०२ मेगावाट पुगेको थियो । यस वर्षको माग गत वर्षको तुलनामा ४८ मेगावाटले बढेको छ।

लक्ष्मीपूजाको दिन आवश्यक सम्पूर्ण विद्युत् देशभित्रैका उत्पादन गृहबाट आपूर्ति गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार देशको माग पूरा गरेपछि पिक समयमा १ हजार १५ मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको छ। गत वर्ष सोही समयमा २५३ मेगावाट मात्रै निर्यात गरिएको थियो।

प्राधिकरणका अनुसार राजधानी काठमाडौं उपत्यकामै मात्र ४०२.५ मेगावाट विद्युत खपत भएको छ। गत वर्षको लक्ष्मी पूजाको दिन उपत्यकामा करिब ३ सय मेगावाट खपत भएको थियो। यस वर्ष उपत्यकामा विद्युत खपतमा करिब ३४ प्रतिशतले वृद्धि भएको हो । 

विगतमा तिहार विशेष गरी लक्ष्मी पूजाको दिनलाई उच्चतम लोड हुने समयको रूपमा लिने गरिन्थ्यो। तर, प्राधिकरणका अनुसार तिहारको बेला उद्योग-धन्दा बन्द हुने र कामदारहरू बिदामा घर फर्किने हुँदा औद्योगिक खपतमा कमी आउने गर्छ । यसले गर्दा समग्र प्रणालीमा लोड अपेक्षाकृत कम हुने देखिएको छ ।

प्राधिकरणका अनुसार घरायसी विद्युत खपत केही बढे पनि औद्योगिक क्षेत्रको खपत घट्दा समग्र लोड पहिलेको जस्तो उच्च हुँदैन । विद्युत आपूर्तिमा कुनै अवरोध नरहेको र सबै क्षेत्रमा सहज रुपमा सेवा दिइरहेको प्राधिकरणले जनाएको छ ।

तिहारको रमाइलो बेला उज्यालो र निरन्तर आपूर्तिको यो स्थिति उपभोक्ताका लागि सुखद पक्ष हो । 

अहिले काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजाइएको छ । घरघरमा बालिएको बत्तीका कारण उपत्यका उज्यालो देखिएको छ । हरेक घर, टोल र पूरै उपत्यका बत्तीले सजाइएको छ । झिलिमिली बत्तीले सजिएको उपत्यका नजिकका डाँडाहरूबाट मनमोहक देखिएको छ ।

Share News