काठमाडौं । प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा परेर ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको पार्थिव शरीर सोमबार साँझ नेपाली सेनाको सम्मानसाथ परिवारलाई हस्तान्तरण गरिएको छ ।
नेपाली सेनाको टोलीले राष्ट्रिय सम्मानसहित जोशीको शव हस्तान्तरण गर्दा वातावरण शोकाकुल बनेको थियो । नेपाली राष्ट्रिय झण्डाले बेरेको कफिनमा राखिएको विपिनको शव उनका दाजु किशोर जोशीसहितको परिवारले बुझेका हुन् ।
शव बुझेलगत्तै कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली घाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ । परिवार, स्थानीयबासी र सरकारी प्रतिनिधिहरूको उपस्थितिमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने बताइएको छ ।
२०२३ अक्टोबर ७ मा हमासद्वारा अपहरणमा परेका विपिनको मृत्युको पुष्टि इजरायली अधिकारीहरूले गत असोज २७ गते गरेका थिए । युद्धविरामपछि हमासले उनको शव इजरायली सेनालाई हस्तान्तरण गरेपछि, डीएनए परीक्षण र फरेन्सिक रिपोर्टमार्फत शव विपिनकै भएको प्रमाणित गरिएको थियो ।