पोखरामा जुवा खेलिरहेका २० जना पक्राउ

कास्की । प्रहरीले पोखराको नयाँजबार, लप्सीबोट र मोहरियाटोलबाट जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको अवस्थामा उनीहरूबाट नगद ६ लाख दुई हजार १०५ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

प्रहरीका अनुसार पोखरा नयाँबजारबाट पाँच जना पक्राउ परेका छन् । उनीहरूको साथबाट दुई सय १२ पत्ती तास र नगद रु दुई लाख ५१ हजार ४५५ बरामद भएको छ । 

यसैगरी पोखरा महानगरपालिका–२६ विजयपुरको लप्सीबोट सामुदायिक वनबाट सात जना पक्राउ परेका छन् । उनीहरुको साथबाट १४ थान कौडा र रु ७७ हजार २०५ नगद फेला परेको छ ।

यस्तै प्रहरीले पोखरा–२ मोहोरियाटोलबाट आठ जना पक्राउ गरेको र उनीहरूको साथबाट छ बुक तास र नगद २  लाख ७३ हजार ४४५ बरामद गरिएको प्रनाउ बस्नेतले जानकारी दिए । पक्राउ परेकाहरूलाई अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 
 

Share News