काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता वर्षमान पुनले देशलाई संवैधानिक रुपमा अगाडि बढाउन आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन सफल बनाउनुको विकल्प नभएको बताएका छन् ।
आज नेवाः राष्ट्रिय मुक्ति मोर्चा, भक्तपुरले यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापानमा उहाँले सबै राजनीतिक दलहरूले आगामी निर्वाचन सफल पार्न सहयोग गर्नुपर्ने बताएका हुन् ।
निर्वाचनबाट माओवादी पछाडि नहट्ने भन्दै उनले आगामी निर्वाचन सफल पार्न माओवादीले सरकारलाई सहयोग गर्ने बताए । नेपाली कांग्रेस, नेकपा (एमाले) लगायत अन्य दलले पनि निर्वाचन सफल पार्न सहयोग गर्नुपर्ने उनले धारणा राखे ।
सरकारले चुनावको वातावरण बनाउन दलहरूसँग छलफल सुरु गर्नु सकारात्मक भएको बताउँदै नेता पुनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको माग सकारात्मक भएपनि घुसपैठका कारण ठूलो नोक्सान भएको बताए ।