लगाइयो भाइटीका

काठमाडौं । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहारको मुख्य दिन बिहीबार दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन्। 

तिहारको अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइएको हो ।यससँगै आज नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

आज दिनभर टीका लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३९ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताए ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको छ ।

टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर खुला दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

Share News