काठमाडौं । निर्वाचन आयोगले असोज मसान्तसम्म दर्ता कायम रहेका १२४ वटा राजनीतिक दलहरूको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको सूचीमा प्रत्येक दलको दर्ता मिति, प्रमुख पदाधिकारी र तिनका निर्वाचन चिन्हसमेत समावेश गरिएको छ ।
सूचीको पहिलो स्थानमा नेपाल मजदुर किसान पार्टी परेको छ, जसका अध्यक्ष नारायणमान बिजुक्छे हुन् र चुनाव चिन्ह मादल रहेको छ । सूचीको दोस्रो नम्बरमा नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) छ, जसका महासचिव सीपी मैनाली हुन् र चुनाव चिन्ह हँसिया र तारा रहेको छ ।
तेस्रो स्थानमा गान्धीवादी पार्टी नेपाल छ । उक्त पार्टीको अध्यक्षमा लालबहादुर राना र चुनाव चिन्ह भेडा रहेको आयोगको सूचीमा छ ।
चौंथोमा नागरिक शक्ति नेपाल र अध्यक्ष देवप्रकाश त्रिपाठी अनि चुनाव चिन्ह त्रिशुल रहेको छ । र पाँचौँमा अध्यक्ष मुस्कान पौडेलको युनाइटेड नेपाल डेमोक्रेटिक पार्टी र चिन्ह पुरुष रहेको आयोगले सार्वजनिक गरेको सूचीमा छ ।
राष्ट्रिय राजनीति निर्धारण गर्ने ठूला दलहरू पनि आयोगको सूचीमा समावेश छन् । नेकपा (एमाले) २३औँ नम्बरमा, नेकपा (माओवादी केन्द्र) २५औं नम्बरमा र नेपाली कांग्रेस २६औं नम्बरमा रहेका छन् ।
समकालीन राजनीतिक धारका नयाँ दलहरू पनि सूचीमा परेका छन् । विवेकशील साझा पार्टी ६८औं नम्बरमा, जनमत पार्टी ७५औं नम्बरमा, नेकपा एकीकृत समाजवादी ८८औं नम्बरमा र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ८९औं नम्बरमा रहेका छन् ।
नेतृत्व परिवर्तन र फुटपछिका दल पनि आयोगमा दर्ता कायम छन् । नेकपा माओवादी समाजवादी (अध्यक्ष कर्णजित बुढाथोकी) र नेकपा एकता राष्ट्रिय अभियान (संयोजक वामदेव गौतम) दुवै नेतृत्व परिवर्तन भए पनि सूचीमै छन् ।
यस्तै, आम जनता पार्टी, जनता प्रगतिशील पार्टी नेपाल , नागरिक उन्मुक्ति पार्टी , नेपाल समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी पनि सूचीमा परेका छन् ।
हालै दर्ता भएका दलहरूमध्ये जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल सूचीकृत रहेको आयोगको सूचीमा देखिन्छ ।
सबैभन्दा पछिल्लो १२४औं नम्बरमा जनस्वराज पार्टी दर्ता भएको छ, जुन जनमत पार्टी फुटेर बनेको हो । यो दल २०२ असोज २ गते दर्ता भएको हो र अध्यक्ष दीपककुमार साह छन् ।
निर्वाचन आयोगले यी सबै दलले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने कानुनी योग्यता राख्ने जनाएको छ ।