समाजवादीका ९ पदाधिकारीले भने, ‘माओवादीसँग एकता आत्महत्या हो’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का ९ जना शीर्ष पदाधिकारीले नेकपा (माओवादी केन्द्र) सँगको एकता प्रस्तावको विरोध गरेका छन् । अध्यक्ष माधवकुमार नेपाल माओवादीसँग कुनै पनि मूल्यमा एकता गर्नुपर्ने तयारीमा रहेपछि पार्टीभित्रका वरिष्ठ नेताहरू खुलेर असन्तुष्ट बनेका हुन् ।

असोज ५ गते सम्पन्न केन्द्रीय पदाधिकारीहरूको जुम बैठकमा अध्यक्ष नेपालले माओवादी केन्द्रसँग एकता प्रक्रियाको तयारी भइरहेको जानकारी गराएका थिए । तर, उक्त बैठकमा अधिकांश वरिष्ठ नेताहरूले सो प्रस्तावको कडा विरोध गर्दै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । 

एक सहभागी पदाधिकारीका अनुसार माओवादीसँग एकता गर्न नहुने पक्षमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, वरिष्ठ नेता घनेन्द्र बस्नेत, उपाध्यक्ष जयन्ती राई, उपाध्यक्ष भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल, उपाध्यक्ष जगन्नाथ खतिवडा, उपमहासचिव गरिमा शाह, सचिव सोमप्रसाद पाण्डे लगायत नौ जना पदाधिकारी रहेका छन्।

बैठकमा महासचिव घनश्याम भुसालले माओवादीसँगको एकतालाई ‘एकता होइन, कम्युनिस्ट आन्दोलनकै आत्महत्या’ भन्दै कडा आपत्ति जनाएका थिए। उनले आफूले आत्महत्याको बाटो रोज्न नसक्ने भन्दै माओवादीसँग एकता सम्भव नभएको स्पष्ट गरेका थिए । 

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार अध्यक्ष नेपालको एकताप्रतिको जोडले पार्टीभित्र गहिरो विभाजन सिर्जना गरेको छ। एक पक्षले तत्काल माओवादीसँग एकता गर्नुपर्ने तर्क दिँदै अध्यक्षलाई साथ दिइरहेको छ भने अर्को पक्षले संगठनको अस्तित्व नै संकटमा पर्ने चेतावनी दिएको छ ।

यससँगै नेकपा (एकीकृत समाजवादी) भित्र औपचारिक रूपमा दुई धार प्रस्ट देखिन थालेका छन् । एक पक्षको नेतृत्व  अध्यक्ष नेपालले गरेका छन् । अर्को पक्षको नेतृत्व महासचिव भुसालले गरेका छन् । नेपाल  नेतृत्वको समूह  एकता समर्थक समूह हो भने अर्को पक्ष माओवादीसँग मिलन अस्वीकार गर्ने घनश्याम भुसाल समूह हो । 

पार्टी स्रोतका अनुसार आगामी स्थायी कमिटी बैठकले यस विषयमा निर्णायक बहस गर्ने तयारी गरेको छ । माओवादीसँग एकता हुने वा नहुने भन्ने टुंगो यही बैठकबाट निकाल्ने अनुमान गरिएको छ। बैठक छठ पछि बस्ने तयारी भएको बताइएको छ ।

माओवादीसँग एकताअघि समाजवादीमा विद्रोह, १२० भन्दा बढी नेता एमाले फर्किने तयारी
 

Share News