काठमाडौं । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा अलैँची निर्यात ३३ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा १ अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको हो ।
३ महिनामा १ हजार ७२ मेट्रिक टन अलैंची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँले जानकारी दिए । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा १ अर्ब ७ करोड २२ लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएको उनले बताए ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको ३ महिनामा चियाको निर्यात ४०.९० प्रतिशतले घटेको छ । उक्त अवधिमा १ अर्ब १ करोड २१ लाख ८६ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा १ अर्ब ७१ करोड ४० लाख ३१ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए ।
कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनियर सिट १२६ प्रतिशत, छुर्पी ६१.८० प्रतिशत, प्लाइउड सतप्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ७१.४० प्रतिशत, धातुका अन्य अवशेष सतप्रतिशत, मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी अदुवा ३२.३० प्रतिशत र अम्रिसो निर्यातमा २४ प्रतिशतले कमी आएको छ । मेची भन्सारबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ३ महिनामा ४ अर्ब ८० करोड ३९ लाख २४ हजार रुपैयाँको माल वस्तु निर्यात भएको छ ।