स्वास्थ्यकर्मी कुटपिट मुद्दामा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्री बन्ने चर्चा

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अभियान्ता खगेन्द्र सुनार मन्त्री बन्ने चर्चा भएको छ । प्रहरीको खोजी सुचीमा रहेका उनी मन्त्री बन्ने चर्चा भएको हो । 

दैलेख घर भएका उनी आइतबार मन्त्रिपरिषदमा मन्त्रीका रूपमा सपथ ग्रहण गर्न तयार भएर बसेका छन् । तर, उनको नाम कर्णाली प्रदेश उच्च अदालतबाट जारी भएको पक्राउ पुर्जीमा उल्लेख छ ।

अदालतले २०८१ साल असार २१ गते जारी गरेको पुर्जीमा जिल्ला दैलेख, नारायण नगरपालिका–२ का खेमबहादुर सुनार अर्थात् खगेन्द्र नाम गरेका व्यक्ति माथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोग लगाइएको उल्लेख छ । 

अदालतले जारी गरेको पुर्जिमा नेपाल सरकारविरुद्ध सार्वजनिक सम्पत्ति नोक्सानी तथा स्वास्थ्यकर्मीमाथि हातपात सम्बन्धी मुद्दामा सुनारलाई पक्राउ गरी ७ दिनभित्र अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय दैलेखलाई आदेश दिइएको हो ।

अदालतको आदेशमा सुनारको बुबाको नाम दिलबहादुर सुनार र ठेगाना दैलेख, नारायण नगरपालिका–२ उल्लेख छ । त्यही नाम र ठेगानाका व्यक्ति आज मन्त्रीका रूपमा सपथ ग्रहण गर्न लागेको भन्दै राजनीतिक वृत्तमा नैतिक प्रश्न र विवाद सुरु भएको छ ।

सो मुद्दा २०८१ साल असार १८ गते सुर्खेतस्थित एक अस्पतालमा स्वास्थ्यकर्मी माथि गरिएको आक्रमणसँग सम्बन्धित थियो । त्यसक्रममा अस्पतालको सम्पत्ति तोडफोड र कुटपिटसम्बन्धी जाहेरी दर्ता भएको थियो । अदालतले अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरे पनि उनी लामो समयसम्म फरार रहेको आरोप छ ।
 

Share News