टीकापुर । टीकापुर नगरपालिका–५ स्थित कर्णाली नदीको तटमा रहेको टीकापुर बहृत उद्यानमा दुई दिनमा पर्यटक प्रवेश शुल्कबाट पाँच लाख ४५ हजार सङ्कलन भएको छ ।
दसैँ र तिहारपछि उद्यानमा आन्तरिक पर्यटक बढेका छन् । टीकापुर उद्यानमा शनिबार छ हजार ५०० पर्यटक भित्रिएका छन् । शनिबार पर्यटकको प्रवेश शुल्कबाट तीन लाख ६० हजार राजस्व सङ्लकन भएको छ । शुक्रबार एक लाख ८५ हजार सङ्कलन भएको पार्क इञ्चार्ज अर्जुन कुँवरले जानकारी दिए ।
बृहत उद्यान तथा टीकापुर पार्कमा आउने कतिपय पार्कमै पिकनिक खाने र रमाउने गर्दछन्, भने कतिपय घुमघाम गर्ने, नदी किनारमा रहेको मोटरबोटमा सवार गरेर फर्कने गरेका छन् । पार्कमा फोटो खिच्ने र टिकटक बनाउनेको भीड लाग्न थालेको छ ।
कालिकोटको रास्कोटका ज्येष्ठ नागरिक कृष्णप्रसाद न्यौपाने टीकापुर आएका बेला पार्क पुगे । उनलाई पार्क असाध्यै मनपर्यो । 'तिहार मनाउन टीकापुर आएको थिएँ, उद्यान राम्रो छ, घुमेर जानुस् भनेर आफन्तले भनेपछि घुम्न आएको हुँ', न्यौपानेले भने, 'पार्क असाध्यै सुन्दर रहेछ, यहाँ आएपछि आनन्द महसुस भयो, स्वर्गीय राजा वीरेन्द्र र रानी ऐश्वर्यको सम्झनाका ऐतिहासिक भवन रहेछन् ।'
कपिलबस्तुबाट समूहमा पार्क घुम्न आएका ध्रुव पन्थी पहिलो पटक टीकापुर उद्यान घुम्न पुगे । चिसापानी, महाकालीपछि पार्क पुगेका उनलाई पूराना बिरुवा, माटोले बनेका सडक सुन्दर, कर्णाली नदीको तट असाध्यै सुन्दर लाग्यो । 'इतिहास बोकेको पार्क हेरौँ भनेर आएका हौँ, राम्रो लाग्यो, कर्णाली नदी किनारमा पनि राम्रो पार्क बनाइएको रहेछ', उनले भने, 'पार्क घुमेपछि कर्णाली नदीमा मोटरबोटमा रमाउन पाइयो ।;'
पार्क आउनेहरु अधिकांश फोटो खिच्ने र टिकटक बनाउने गर्दछन् । लम्कीचुहाको कौवापुरकी धनसरा विष्टको समूहले पनि पार्कमा रमाइलो गरेको छ । 'पार्कमै पकाएर, नाचगान गर्दै खायौँ', उनले भने, 'देउसीभैलो खेलेर दर्जनौँ समूह पिकनिक खान आएका छन् ।'
तिहारपछि देउसीभैलो खेलेर पिकनिक खान आउनेको पनि पार्कमा भीड लागेको छ । पार्कमा दैनिक हजारौँ पर्यटक आउन थालेपछि नगरपालिका व्यवस्थापनमा जुटेको छ । तिहारपछि पार्कमा पर्यटक बढने समयमा नगरपालिकाले पार्कमा कर्मचारी व्यवस्थापन, सुरक्षाकर्मी व्यवस्थापन र पर्यटकको सहजताका लागि काम गरिरहेको प्रशासकीय अधिकृत देवीप्रसाद आचार्य बताउँछन् ।
'पालिकाले सहज प्रवेशका लागि टिकट काट्न तीन काउन्टर सञ्चालन र नगर प्रहरी परिचालन गरेको छ', उनले भने, 'यसका साथै शान्ति सुरक्षाका लागि प्रहरीको सहयोग लिएका छौँ, केही दिनका लागि पार्कमा कर्मचारी र सरसफाइकर्मी थप गरिएको छ ।' रासस