खाद्य कम्पनीले कात्तिक ११ गतेदेखि १३ ठाउँमा धान खरिद केन्द्र सञ्चालन गर्दै

काठमाडौं । नेपाली किसानका लागि सुखद खबर आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष देशभरका प्रमुख धान उत्पादन क्षेत्रलाई लक्षित गरी १३ वटा धान खरिद केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

शनिबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यको अध्यक्षतामा बसेको बैठकले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने निर्णय गर्दै धान किसानलाई प्रत्यक्ष राहत पुग्ने व्यवस्था मिलाएको हो । 

कम्पनीले यस वर्ष महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगञ्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, वीरगञ्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोड गरी देशका १३ स्थानमा खरिद केन्द्र स्थापना गर्नेछ । 

बैठकले आवश्यकता अनुसार स्थानीय तहसँग समन्वय गरी उपकेन्द्र थप गर्न सकिने निर्णय पनि गरेको छ । साथै, भण्डारण क्षमताभन्दा बढी धान खरिद गर्नुपर्ने स्थिति आएमा खुला स्थानमा सुरक्षित रूपमा सञ्चय गरिने र त्यसका लागि स्थानीय प्रशासनको सहयोग तथा बीमा व्यवस्था मिलाइने कम्पनीले जनाएको छ । 

कम्पनीले गुणस्तर मापदण्ड अनुरुपको धान मात्र खरिद गर्ने र त्यसको सुनिश्चितता गुणस्तर प्राविधिक कर्मचारीमार्फत गरिने जनाएको छ । यसबाहेक, बजारमा उपलब्ध चामलको मूल्य र समर्थन मूल्यमा खरिद गरिएको धानबाट उत्पादन हुने चामलबीचको मूल्य फरक नेपाल सरकारसँग समायोजन गर्न अर्थ मन्त्रालयमा पत्राचार गरिने भएको छ । 

सरकारको यो कदमले किसानलाई न्यायसंगत मूल्य प्राप्त गर्न मद्दत पु¥याउने र घरेलु चामल उत्पादनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
 

Share News