काठमाडौं । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) शिक्षण अस्पताल प्रशासनले आन्दोलनरत कर्मचारीलाई कार्यस्थलमा फर्कन आह्वान गरेको छ ।
युसिएसएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पिएसले प्रेस विज्ञप्ति जारी गर्दै बिरामीको उपचारलाई मध्यनजर गर्दै आकस्मिकसहित सघन उपचार, प्रसूतिलगायत सबै सेवाहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी नियमित कार्यमा फर्किन आह्वान गरे ।
वर्तमान परिवेशमा आन्दोलनका कारण कुनै पनि बिरामीलाई प्रतिकूल प्रभाव पर्न गएमा सोको जिम्मेवार तथा जवाफदेही आन्दोलनकारी पक्ष नै हुने समेत विज्ञप्तिमा जनाइएको छ । हाल देखिएका समस्यालाई वार्ताको माध्यमबाट समाधानका लागि आवश्यक ‘समन्वय तथा सहयोग’ गरिदिन स्थानीय प्रशासन तथा सरोकार भएका सबैमा अपिल समेत गरिएको छ ।
यस कलेजमा कार्यरत नर्सिङ तथा प्यारामेडिक्स कर्मचारीले प्रशासन समक्ष विभिन्न माग राखी विसं २०८२ कात्तिक २ गतेदेखि आन्दोलनमा उत्रिएका छन् । उनीहरूले कात्तिक ११ गते मङ्गलबार दिउँसो १ बजेसम्म पनि माग सम्बोधन नभए पूर्ण रूपमा ‘पेन डाउन’ गर्न बाध्य हुने चेतावनी दिएका छन् ।