काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिदै गर्दा गृहमन्त्री ओमप्रकाश अर्यालले मधेस प्रदेशको भ्रमण गर्ने भएका छन् । निर्वाचनको तयारी र शान्ति सुरक्षाको अवस्था प्रत्यक्ष बुझ्न उनी आज सोमबार जनकपुर प्रस्थान गर्न लागेका हुन् ।
मन्त्री अर्यालसँगै उद्योग तथा कानुन मन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगाल पनि भ्रमण दलमा रहने छन् । गृह मन्त्रालयका अनुसार उनीहरू दुई दिन सोमबार र मंगलबार मधेस प्रदेशमा रहने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा मन्त्री अर्यालले प्रदेशभित्रका सुरक्षा निकायका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू, र स्थानीय प्रशासनसँग समन्वय बैठक गर्ने तयारी गरेका छन् । अर्यालले निर्वाचन सुरक्षासँग सम्बन्धित तयारी, जोखिम मूल्यांकन, मतदाताको सुरक्षासम्बन्धी योजना, र संवेदनशील स्थानहरूको अनुगमन गर्ने कार्यक्रम समेत रहेको मन्त्रालयले जनाएको छ।
यसै क्रममा मन्त्री अर्यालले जनकपुर स्थित सुरक्षा निकायका कार्यालयहरूको निरीक्षण गरी आगामी निर्वाचनका लागि आवश्यक स्रोत, जनशक्ति, र व्यवस्थापनका विषयमा प्रत्यक्ष जानकारी लिने बताइएको छ ।
भ्रमण दलका सदस्यहरूले सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया गर्दै निर्वाचन अवधिमा हुने सम्भावित चुनौती र समाधानका उपायबारे छलफल गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
गृहमन्त्री अर्यालले भ्रमणका क्रममा मधेसमा मनाइने छठ पर्वका केही कार्यक्रममा समेत सहभागी हुनेछन्। स्थानीय प्रशासनले छठ पर्व र आसन्न निर्वाचनलाई दृष्टि गत गर्दै सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार निर्वाचन नजिकिदै गर्दा शान्ति सुरक्षाको स्थिति स्थिर राख्न र प्रदेश स्तरीय संयन्त्रबीचको सहकार्य सुदृढ बनाउन यो भ्रमणलाई विशेष महत्त्वका रूपमा लिइएको छ ।