काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी अन्डाको मूल्य बढाएको छ । उत्पादन घट्नु र खपत बढ्नुका कारण संघले मूल्य वृद्धि गर्नुपरेको जनाएको छ ।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार ठूलो अन्डाको मूल्य प्रति क्रेट ५०० रुपैयाँ र मध्यम अन्डाको मूल्य ४५० रुपैयाँ पुगेको छ । अघिल्लो दरको तुलनामा प्रति क्रेट ५० रुपैयाँले भाउ बढाइएको उनले बताए । मूल्य निर्धारण चितवन क्षेत्रमा आधारित भएको जानकारी पनि उनले दिएका छन् ।
उनका अनुसार उपभोक्ताका लागि खुद्रा मूल्य भने प्रति अन्डा करिब २२ रुपैयाँकै हाराहारीमा रहेको छ । 'उपभोक्ता मूल्यमा त्यति ठूलो फरक आउने छैन,' पोखरेलले भने ।
उत्पादकले थोक मूल्य बढाएपछि होलसेलरले व्यापारीलाई महँगोमा अन्डा बेच्ने र अन्ततः उपभोक्ताले पनि बढी मूल्य तिर्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।