काठमाडौं । नेपाली कांग्रेसको आगामी महाधिवेशनको मिति तोक्ने विषयमा पार्टी शीर्ष नेताहरूबीच अनिश्चितता बढ्दै गएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा दुवैले राजनीतिक समीकरण मिलाउन नसक्दा कांग्रेसभित्र महाधिवेशनको तयारी ठप्पप्रायः देखिएको हो ।
१४औं महाधिवेशनपछि देखिएको पार्टी सत्ताको सन्तुलन र गुटको समीकरण अझै कायमै रहेकाले दुवै नेताले हतारमा मिति तोक्ने जोखिम लिन चाहेका छैनन् । महामन्त्री थापा शेखर कोइरालासँगको राजनीतिक सामीप्यता कायम राख्दै पार्टीभित्र आफुलाई नेता बनाएर महाधिवेशनमा जान सक्ने अवस्था सुनिश्चित नभएसम्म मिति तोक्ने पक्षमा छैनन् ।
पार्टीभित्र शेखर समूहको समर्थनबिना थापाको नेतृत्वमा महाधिवेशनमा जान सम्भव नहुने ठानेका कारण उनले समय तान्ने रणनीति अख्तियार गरेको नेताहरू बताउँछन् ।
कार्यवाहक सभापति खड्काको अवस्थासमेत सहज छैन । सभापति शेरबहादुर देउवा निकट रहेका नेताहरूलाई विश्वस्त बनाउन नसकेसम्म महाधिवेशनमा जान खड्काका लागि पनि सहज नहुने देउवा निकट एक नेताले बताए । देउवाप्रति विश्वास राख्ने नेताहरूले खड्काको भूमिकाप्रति शंका व्यक्त गर्दै आएका छन् ।
कार्यवाहक सभापति खड्काप्रति गोपालमान श्रेष्ठ, कृष्ण सिटौला, प्रकाशमान सिंह, बिमलेन्द्र निधी र विजय कुमार गच्छेदारजस्ता पाका नेताहरु आश्वस्त नरहेको उनीहरुको अभिव्यक्तिबाट देखिन्छ । यस्तोमा मिति तोक्ने जिम्मेवारी सम्हाल्दा देउवा समूह असन्तुष्ट हुन सक्ने डर खड्कालाई लागेको स्रोत बताउँछ ।
पार्टीभित्र अहिले एउटा मनोवैज्ञानिक डर पनि व्याप्त छ । यदि कार्यवाहक सभापतिले मिति तोक्न वा महाधिवेशनको तयारीमा ठोस कदम चाल्न सकेनन् भने राजनीतिका चतुर खेलाडी देउवा पुनः सक्रिय हुँदै पदमा फर्किने सम्भावनाको डर पनि एउटा वृतमा छ । यही भयले गर्दा खड्का र महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा देउवाको पुनरागमन रोक्न सतर्क रहँदै आफ्नो गुटको सन्तुलन मिलाउने प्रयत्नमा केन्द्रित छन् ।
देउवा समूहले आगामी महाधिवेशनमा सभापतिका उम्मेदवारका रूपमा पूर्णबहादुर खड्कालाई समर्थन गर्ने सम्भावना अहिले शून्य बराबर देखिएको विश्लेषकहरूको मूल्याङ्कन छ । यही कारणले खड्का अहिले म्याद थप्दै गएर भए पनि महाधिवेशनलाई पछाडि धकेल्ने योजनामा रहेको आशंका पार्टीभित्र छ । उनले देउवा समूहसँग सिधा टकराव गर्नुभन्दा समय तान्दै परिस्थिति आफ्नो पक्षमा पार्ने रणनीति अपनाइरहेको बुझिन्छ ।
देउवा समूह, खड्का र थापा पक्षबीचको शक्ति–सन्तुलनले पार्टीको आगामी महाधिवेशन कहिले र कसरी हुने भन्ने विषय नै अनिश्चित बनेको छ । एकातिर देउवा समूहले पुरानै संरचनालाई कायम राख्ने प्रयास गरिरहेको छ भने अर्कातिर नयाँ पुस्ता नेतृत्वमा आउनु पर्ने आवाज पनि बलियो बन्दै गएको छ ।
हाल पार्टीभित्र महाधिवेशनको मिति तोक्न दबाव बढिरहेको भए पनि शीर्ष तहमा सहमति अभावले ठोस निर्णय आउन सकेको छैन । कांग्रेसका स्थायी समिति र केन्द्रीय कार्यसमितिका बैठकहरूमा पनि यो विषयमा गम्भीर छलफल भएता पनि अन्तिम निष्कर्षमा पुगेको छैन ।
राजनीतिक विश्लेषकहरूका अनुसार यदि यही गतिमा पार्टी अगाडि बढ्यो भने कांग्रेसभित्रको गुटगत असन्तुलन अझ बढ्ने र आगामी निर्वाचनमा यसको प्रत्यक्ष प्रभाव पर्न सक्ने सम्भावना छ । त्यसैले पार्टी नेतृत्वले सहमतिको बाटो खोजी गरेर महाधिवेशनको मिति चाँडै तोक्नुपर्ने दबाव पनि बढेको कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङ बताउँछन् ।
कार्तिक १३ गतेबाट पुनः सुरु हुने केन्द्रीय समिति बैठकमा महाधिवेशनको मितिकै बिषयमा छलफल हुने जानकारी गुरुङले दिए ।
सभापति देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल मंसिरमा सकिँदैछ । महामन्त्रीद्वय थापा र शर्मासहित इतर पक्षका नेताहरू यो नेतृत्वको कार्यकाल लम्ब्याउन नहुने पक्षमा छन् भने देउवा पक्षका नेताहरु कार्यकाल लम्ब्याउने पक्षमा देखिन्छन् ।
महामन्त्रीद्वयले नियमित नभए विशेष महाधिवेशन गरेरै भए पनि नेतृत्व परिवर्तन गर्नुपर्ने राय राखिरहेका छन् । उनीहरुले विशेष महाधिवेशन माग्दै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसमेत बुझाइसकेका छन् । देउवाले अब आफू नेतृत्वबाट विदा हुने संकेत अनौपचारिक रुपमा दिए पनि थापा पक्षले भने त्यसलाई थप संशयका रुपमा बुझेको छ ।