शान्ताको अचार अब आइएसओ प्रमाणित हुँदै, घरेलु स्वादलाई अन्तर्राष्ट्रिय स्तरमा पु‍र्‍याउने तयारी

काठमाडौं । नेकपा एमालेकी पोलिटब्युरो सदस्य तथा संविधानसभा सदस्य शान्ता चौधरीले सञ्चालन गरेको शान्ताको अचार ब्रान्ड ले आइएसओ गुणस्तर प्रमाणपत्र प्राप्त गर्ने अन्तिम तयारी थालेको छ ।

स्वदेशमै उत्पादन भएको नेपाली अचारलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने उद्देश्यसहित चौधरीले सुरु गरेको यो उद्यम अहिले देशभर चर्चा कमाउँदै छ ।

दाङबाट सुरु गरिएको सानो घरेलु उद्योग अहिले ललितपुरसम्म विस्तार भइसकेको चौधरीले जानकारी दिइन् । शान्ताको अचारले हाल २२ भन्दा बढी प्रकारका अचार उत्पादन गर्दै आएको बताएकी छन् । यसले गुणस्तर र स्वच्छतामा नयाँ मापदण्ड अपनाएको छ । यही कारण अब यसले सेफ्टी म्यानेजमेन्ट प्रणाली अन्तर्गत आइएसओ २२००० प्रमाणपत्र का लागि आवश्यक सबै प्रक्रिया पूरा गर्न लागेको चौधरीले बताइन् ।

'हामी नेपाली स्वादलाई विश्वस्तरीय रूपमा प्रस्तुत गर्न चाहन्छौँ,' चौधरीले भनिन् । उनले आइएसओ प्रमाणपत्रले उत्पादनमा विश्वसनीयता र प्रतिस्पर्धा बढाउने विश्वास व्यक्त गरिन् ।

शान्ताको अचारले दाङ र ललितपुरमा दुई उत्पादन केन्द्र सञ्चालनमा ल्याएको छ । अचारका लागि प्रयोग हुने कागती, अदुवा, खुर्सानी, लसुनजस्ता कच्चा पदार्थ स्थानीय किसानबाट खरिद गरिन्छ । यसले गाउँका महिलालाई रोजगारी र आम्दानीको नयाँ अवसर दिएको छ ।

हाल यस उद्योगमा ५० भन्दा बढी महिला प्रत्यक्ष रूपमा कार्यरत छन् । चौधरी भन्छिन्, 'हामीले व्यवसायलाई महिला स्वावलम्बनसँग जोड्ने लक्ष्य लिएका छौँ । अचारले आर्थिक र सामाजिक दुवै स्वाद दिन्छ ।'

अचार उत्पादनमा स्वच्छता र प्याकेजिङलाई प्राथमिकता दिइएको छ । आधुनिक मेसिनरी, स्टेनलेस स्टीलका कन्टेनर र गुणस्तर परीक्षणका लागि ल्याब प्रणाली पनि सुरु गरिएको चौधरीले जानकारी दिइन् ।

चौधरीका अनुसार अचार अहिले देशभरका सुपरमार्केट, डिपार्टमेन्टल स्टोर र अनलाइन प्लेटफर्महरूमा उपलब्ध छ । ग्राहकको बढ्दो रुचिसँगै कम्पनीले छिट्टै विदेशी बजारमा पनि निर्यात विस्तार गर्ने योजना बनाएको छ ।

Share News