काठमाडौं । हालसम्मकै उच्च बनेर रेकर्ड तोड्दै गइरहेको सुनको भाउ फेरि पछिल्ला दिनहरुमा ओरालो लाग्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ ।
गत आइतबार एकै दिन प्रतितोला ११ हजार ६ सयले घटेर दुई लाख ४१ हजार ९ सय कायम भएको सुनको मूल्य सोमवार पुनः तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार ९ सयमा किनबेच भएको थियो । मंगलबार फेरि प्रतितोला दुई हजार ९ सय घटेपछि दुई लाख ३७ हजारमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । यसरी पछिल्लो दिनहरुमा ओरालो लागेको सुनको भाउ अझै घट्ने व्यवसायीहरुको आकलन रहेको छ । महासंघका प्रथम उपाध्यक्ष धर्मरत्न बज्रचार्यले सुनको भाउ उच्च बिन्दुमा पुगिसकेकाले अब बढ्ने भन्दा पनि निरन्तर ओरालो लाग्नेक्रममा रहेको बताए ।
उनकाअनुसार प्रतितोला २ लाख ५८ हजार पुगेको सुनको भाउमा भारी गिरावट आइसकेको छ, यो क्रम निरन्तर चल्ने देखिन्छ । पछिल्लो समय अमेरीकामा सुनबाहेक अन्य क्षेत्रमा लगानीका लागि वातावरण बन्दै गर्दा लगानीकर्ता अन्यत्र डाइभर्ट भएकाले सुनको भाउ घट्ने क्रम शुरु भएको हो ।
महासंघका उपाध्यक्ष बज्रचार्यले भने, ‘सुनको भाउ धेरै नै बढिसकेको थियो, दुई लाख ५८ हजार भनेको धेरै नै बढी सकेको अवस्था हो । कुनै न कुनै दिन झर्न त पर्ने नै हो । अब माथि गएर झर्छ कि अब यहिँबाट झर्छ भन्ने कुरा थियो । तर यो बीचमा तिहार थियो । तिहारमा खासगरी नेपालसँगै भारतमा धेरै सुनको खपत हुन्छ । धेरै खपत हुने हुँदा भाउ बढ्न अलिकति मद्दत गरिरहेको थियो । चाडपर्व सकिएसँग भारतमा पनि अलिकति माग घटेको छ । र यहिँ दौरानमा जुन अस्तिको दिनहरूमा अमेरिकाले चाइनालाई जुन ट्यारिफहरू बढाइसकेपछि चाइनाबाट जुन रियर अर्थ चाइनाले अमेरिकामा सप्लाई गर्दिन भनेर नगरेको अवस्था देखियो ।’
बज्रचार्यकाअनुसार अहिले सुनको भाउ घटेपनि खासै कारोबार भएको छैन । अन्तर्राष्ट्रिय क्षेत्रमा टे्डवार कम हुँदै जाँदा लगानीकर्ताहरू डाइवर्ट भएको देखिएकाले सुनको किनबेच कम भएको छ । पछिल्ला परिस्थितिहरु आँकलन गर्दा अहिले तत्कालै सुन प्रतिऔंस दुई–चार सय डलर घट्ने सम्भावना रहेको उनले बताए।