रास्वपामा रविको विकल्प खोजिँदै, यी व्यक्तिसँग हुँदैछ नेतृत्वका लागि छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति रवि लामिछानेको विकल्प खोज्नुपर्ने आवाज बढ्न थालेको छ । पार्टीको कात्तिक २१ र २२ गते केन्द्रीय समिति र पदाधिकारीहरूको विस्तारित भेला बस्दैछ । भेला नजिकिँदै जाँदा सभापति रवि लामिछानेको विकल्प खोज्ने र पार्टीभित्र नयाँ शक्ति सन्तुलन बनाउने प्रयास तीव्र बनेको हो । 

पार्टी स्रोतका अनुसार हाल रास्वपा नेतृत्वमा असन्तुष्टि बढ्दै गएको छ । केही नेताहरूले समावेशी र कार्यकुशल नेतृत्व खोज्ने आवाज उठाएका छन् । यसक्रममा कुलमान घिसिङ, मेयर बालेन्द्र शाह, सुमना श्रेष्ठ र  सुदन गुरुङलाई समेटेर नयाँ प्रकारको एलायन्स बनाउने तयारी भएको चर्चा राजनीतिक वृतमा छ । 

पार्टी नजिकका केही नेताहरूका अनुसार यो सम्भावित एलायन्सले रवि लामिछानेलाई संरक्षक भूमिकामा राख्दै कार्यकारी जिम्मेवारी नयाँ व्यक्तिलाई दिने प्रस्ताव अघि बढाएको छ । तर, औपचारिक निर्णय भने भेलाबाट गर्न सकिने एक नेताले बताए ।

रास्वपाभित्रका केही नेताहरूले यो चर्चा सामान्य आन्तरिक बहस मात्रै भएको बताइरहेका छन् । 

रास्वपाका प्रवक्ता मनिष झा र केही केन्द्रीय सदस्यहरूले भने भेलाको एजेन्डा संस्थागत सुदृढीकरण र आगामी निर्वाचन रणनीति प्रमुख विषय हुने बताएका छन् ।

रवि लामिछाने सहकारी ठगी प्रकरणमा अहिले हिरासतमा छन् । गत भदौ २४ गते जेनजी आन्दोलनका दिन उनी हिरासतबाट बाहिर आएपछि उनको आलोचना थप बढेको छ । 

Share News