काठमाडौं । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते भएको आगजनी तोडफोडबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा करिब ५८ करोड रुपैयाँको क्षति भएको छ ।
प्रदर्शनका क्रममा जिल्लास्थित सरकारी र निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट करिब ५८ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए । उनका अनुसार आन्दोलनका क्रममा जिल्लामा ४० वटा सवारीसाधन र ५३ वटा भौतिक संरचनामा क्षति पुगेको थियो ।
जिल्लास्थित सरकारी कार्यालयका एउटा चार पाङ्ग्रे सवारीसाधन र ४ वटा मोटरसाइकल, ३ वटा मोटरसाइकलबारे अनुसन्धान भइरहेको, स्थानीय तहका ९ वटा मोटरसाइकल, ५ वटा चार पाङ्ग्रे सवारीसाधन र ७ वटा साइकलसहित २१ वटा सवारीसाधनमा क्षति पुगेको भन्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।
उनका अनुसार स्थानीय तहका ९ वटा मोटरसाइकलमा पूर्ण क्षति पुगेको छ । यस्तै, २ वटा चार पाङ्ग्रे सवारीसाधनमा पूर्ण तथा ३ वटामा आंशिक रुपमा क्षति पुगेको छ । निजी सवारीसाधनतर्फ १४ वटा सवारीसाधनमा क्षति पुगेको छ ।
जिल्लामा क्षति पुगेका ४० वटा सवारीसाधनमध्ये १७ वटा मोटरसाइकलमा पूर्ण क्षति, ५ वटा आंशिक तथा चार पाङ्ग्रे सवारीसाधनतर्फ ४÷४ वटा सवारीसाधनमा पूर्ण र आंशिक क्षति भएको छ ।
प्रदर्शनका क्रममा जिल्लामा ५३ वटा भौतिक संरचनामा क्षति पुगेकामा ५ वटा निजी आवास पूर्ण रूपमा क्षति भएका प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । जिल्लामा २ वटा प्रहरी इकाई, ३ वटा प्रहरी बिट र गण्डकी प्रदेश अन्तर्गतको एउटा सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ ।
यस्तै, ३ वटा पालिका कार्यालय र ६ वटा वडा कार्यालयमा आगजनी भएको उनले बताए । आगजनी र तोडफोडबाट जिल्लामा राजनीतिक दल र जनप्रतिनिधिका निजी घर गरी १५ वटामा क्षति पुगेको जनाइएको छ ।
यसैगरी आईएमई ग्रुपको मौलाकाली केबलकार र बाबुराम सुनचाँदी पसलमा समेत आगजनी र तोडफोड भएको छ । आन्दोलनका क्रममा जिल्लास्थित चारवटा राजनीतिक पार्टीका जिल्ला पार्टी कार्यालय, १२ वटा नगर पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको जनाइएको छ ।