माधव नेपालको राजीनामा माग, पार्टी एकतामा विमति

फाइल तस्बिर ।

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्रसँगको एकताको प्रस्तावप्रति असहमति जनाएका छन् । 

सुकेधारामा बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा खनालले माओवादीसँग एकता गर्नुपर्ने प्रस्तावको खुला विरोध गर्दै यस्तो कदमले पार्टीको अस्तित्व र राजनीतिक सिद्धान्तमा नै प्रश्न उठाउने बताएका छन् ।

उनले भने, ‘यदि अहिले हाम्रो पार्टी माओवादी केन्द्रमा गाभिन्छ भने एमालेसँग गरेको विभाजनको औचित्य हराउँछ । यो हाम्रो राजनीतिक इतिहासको पुष्टि होइन, उल्टै एकता भनिएको यो कदम हाम्रा लागि आत्मघाती हुनेछ ।

खनालले सशस्त्र युद्धका क्रममा भएका विवादास्पद घटनाहरूको जिम्मेवारी समाजवादीले लिन नसक्ने स्पष्ट पारेका छन् । उनका अनुसार माओवादीसँगको एकता जनयुद्ध र त्यसपछिका घटनाप्रति मौन सहमति जनाएसरह हुनेछ ।

खनालले पार्टी अध्यक्ष माधव नेपालको राजीनामा समेत मागेका छन् । भ्रष्टाचार मुद्दा लागेर सांसद पद निलम्बन हुँदा पनि पार्टी नेतृत्व नछाडेको भन्दै उनले नेपालकाे आलोचना गरे ।

‘मुद्दा लागेपछि त्यस बेलै संसदबाट निलम्बन हुनुभयो । अनि तपाईँ पार्टीमा चाहिँ किन पदमा बस्ने ? कम्युनिस्ट आन्दोलनको नेताले कस्तो मूल्य स्थापित गर्ने, त्यसको अगुवाइ तपाईँले गर्नुस् । तपाईंले नेतृत्व छाड्नुस्,’ खनालले भने । 

त्यस्तै, महासचिव घनश्याम भुसालले पनि माओवादीसँग तत्काल एकता गर्नु रणनीतिक गल्ती हुने बताएका छन्। ।

उनले भने, ‘हामीले एमालेबाट अलग भएर नयाँ राजनीतिक विकल्प निर्माण गर्ने प्रतिज्ञा गरेका थियौं । अहिलेको एकता त्यस उद्देश्यविपरीत हुनेछ ।’

अध्यक्ष माधवकुमार नेपालले भने वाम शक्तिहरूबीच एकता आवश्यक रहेको बताउँदै आएका छन् । उनका अनुसार वाम आन्दोलनलाई मजबुत बनाउन सहकार्य अपरिहार्य छ ।

बैठकमा अहिले नेताहरूबीच तीव्र छलफल जारी छ । खनाल र भुसालको विरोधपछि पार्टीभित्रको शक्ति सन्तुलन फेरि एकपटक परीक्षणमा परेको छ । 

बैठकले अन्ततः एकता सम्बन्धी प्रस्ताव पारित गर्ने वा अस्वीकार गर्ने निर्णय आज बेलुकीसम्म आउने अपेक्षा गरिएको छ ।

यसअघि अध्यक्ष नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालको बुधवार बिहान भएको भेटघाटमा कार्तिक १६ गते एकता घोषणा गर्ने सहमति भएको थियो । 

उक्त बैठकमा उपस्थित नेकपा एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार कार्तिक २१ गते निर्वाचन आयोगमा दल दर्ता गर्ने र कात्तिक २८ र २९ गते राष्ट्रिय सम्मेलन गर्ने आन्तरिक सहमति भएको थियो ।

खाजा खर्चमै केन्द्रीत रह्यो समाजवादीको बैठक, पाण्डेले एक लाख सहयोग गर्दा रामकुमारीको हजार

Share News