काठमाडौं । नेपालका लागि जर्मनीका महामहिम राजदूत उडो भोल्जले प्रधानमन्त्री सुशीला कार्कीसँग बिहीबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा नेपाल–जर्मनीबीचका द्विपक्षीय हित, विकास सहयोग र आपसी मित्रता सुदृढीकरणका विषयमा विचार–विमर्श भएको थियो ।
प्रधानमन्त्रीमा कार्की नियुक्त भएपछि उनीहरूबीचको यो पहिलो भेट हो । भेटका क्रममा राजदूत भोल्जले प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालको शुभकामना दिँदै, जर्मनी नेपालको प्राथमिकताअनुसार आवश्यक सहयोग गर्न सदैव तत्पर रहने बताएका थिए ।
प्रधानमन्त्री कार्कीले जर्मन सहयोगका लागि धन्यवाद दिँदै, नेपालको राहदानी (पासपोर्ट) छपाइको जिम्मा पाएको जर्मन कम्पनीसँग सम्झौतामा उल्लिखित मितिअगावै काम सुरु गर्न पहल गरिदिन अनुरोध गरिन् ।
नेपालका नागरिकलाई छिटोछरितो सेवा प्रवाह सुनिश्चित गर्न यो परियोजनामा जर्मन पक्षबाट सहयोग प्राप्त हुने विश्वास उनले व्यक्त गरिन् । जवाफमा राजदूत भोल्जले आफ्नो तर्फबाट सम्बन्धित कम्पनीलाई आग्रह गर्ने र छपाइ कार्य शीघ्र सुरु गर्न सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।
भेटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, परराष्ट्र सचिव अमृतबहादुर राई लगायत उच्च कूटनीतिक अधिकारीहरूको उपस्थिति थियो ।