रेशम चौधरीले खोले ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’, नयाँ दल दर्ता गर्न दिए निवेदन

फाइल तस्बिर ।

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेका पूर्वसांसद रेशम चौधरीले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनले दर्ता गर्न लागेको नयाँ दलको नाम ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ राखिएको छ ।

निर्वाचन आयोगका अनुसार उक्त दल दर्ताको निवेदन अहिले सनाखतको प्रक्रियामा रहेको छ । चौधरी नेतृत्वको समूह बिहीबार एउटै पहिरनमा आयोग पुगेर दल दर्ताको औपचारिकता पूरा गरेको थियो ।

दर्ताका लागि पेस गरिएको कागजातमा पार्टीको अध्यक्षका रूपमा कबीर सोबलाई प्रस्ताव गरिएको छ । चुनाव चिन्ह जाँतो प्रस्ताव गरिएको आयोग स्रोतले जनाएको छ ।

२८ वर्षीय कबीर सोब कैलालीको टिकापुर निवासी हुन् । दल दर्ताका क्रममा चौधरीसँगै डा. सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान पनि आयोग पुगेका थिए ।

यससँगै चौधरीले पुरानो नाउपा परित्याग गर्दै नयाँ संगठनात्मक ढाँचा र नेतृत्वसहित राजनीतिक यात्राको नयाँ चरण सुरु गरेका छन् ।

Share News