काठमाडौं । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यले नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।
पार्टीभित्र नियमित महाधिवेशन वा विशेष महाधिवेशनका लागि रस्साकस्सी चलिरहेका बेला पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्ने सदस्यहरूले नियमित महाधिवेशनमा जानु नै उपयुक्त हुने धारणा राखेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केन्द्रीय सदस्यहरूले देशको राजनीतिक संकट, आगामी निर्वाचनको सुरक्षा अवस्था र पार्टी महाधिवेशनका विषयमा धारणा राखेको बताए ।
उनका अनुसार केन्द्रीय सदस्यहरूले अगामी २१ फागुनमा तोकिएको निर्वाचनका लागि सरकारले सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् ।
गाउँमा शान्ति सुव्यवस्था कायम हुन नसकेको अवस्थामा निष्पक्ष, भयरहित र शान्तीपूर्ण ढंगले निर्वाचन हुनेमा आंशका रहेको उनको भनाइ छ ।
यद्यपि सरकारले निर्वाचनका लागि उचित वातावरण बनाएर चुनावका लागि सरकारलाई सघाउने धारणा समेत सदस्यहरले राखेको प्रवक्ता महतले जानकारी दिए।
उनले बैठकमा संसद पुनःस्थापनाको विषय समेत उठान भएको बताए ।
केही केन्द्रीय सदस्यहरूले संसद पुनःस्थापनाको सम्भावनाबारे समेत धारणा राखेको महतको भनाइ छ ।