निजामती कर्मचारी अस्पतालका नर्सहरू पनि आन्दोलित

काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) मा नर्सहरूले पनि आन्दोलन सुरु गरेका छन् । 

शुक्रबार काठमाडौंको मीनभवनस्थित सो अस्पतालको मूल गेटमा धर्ना दिँदै उनीहरुले उचित पारिश्रमिक दिनुपर्ने लगायतका नेपाल नर्सिङ संघले सरकारलाई बुझाएको १५ बुँदे मागसहितको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । 

न्यूनतम सेवा र सुविधाबाट वञ्चित नगर्न माग गर्दै सो संघले जारी राखेको आन्दोलनमा आफूहरूले पनि धर्नामार्फत ऐक्यवद्धता जनाएको बताएका छन् । 

उनीहरुले योग्यता र अनुभवको आधारमा आफूहरूलाई सेवा दिने व्यवस्था गर्न पनि सरकारलाई दबाब दिए । 

आन्दोलनरत एक नर्सले भनिन्, ‘चौबिसै घण्टा सेवा दिने हामीहरु आवश्यक सेवा लिनबाट वञ्चित छौं । नेपाल नर्सिङ संघले मागेको आवश्यक सेवासुविधालाई हामीले पनि धर्नामार्फत साथ दिएका हौं ।’ 

बिहान १० बजेदेखि १२ बजेसम्म धर्नामा बसेका उनीहरूले श्रमको उचित मूल्यांकन गर, योग्यता र अनुभवकोअनुसार पारिश्रमिक कायम गर, जोखिम भत्ता र अतिरिक्त भत्ताको तत्काल व्यवस्था गर भन्ने प्लेकार्डसहित धर्नामा बसेका थिए । 

नेपाल नर्सिङ संघको आह्वानमा देशभर नर्सहरूले आफूहरूको न्यूनतम सेवा, सुविधाको तत्काल व्यवस्था गर्नुपर्नेलगायतका माग राखी देशभर विरोध प्रदर्शन गर्दै आएका छन् । 

Share News