सार्वजनिक जग्गा अतिक्रमणमाथि प्राधिकरणको कठोर कदम, बल प्रयोग गरी अवैध संरचना हटाइने

थापाथलीको सुकुम्वासी बस्तीलाई हटाउने योजना छैन

काठमाडौं । धोबीखोला करिडोरदेखि बागमती आसपासका अवैध संरचना हटाइने भएको छ । काठमाडौं उपत्यका प्राधिकरणका अनुसार धोबीखोला, बागमती नदी आसपासमा सार्वजनिक जग्गामा संरचना बनाएर अवैध रूपमा बसेकाहरूलाई हटाउन लागिएको हो । 

लामो समयदेखि मौखिक रुपमा त्यस्ता संरचना बनाएर बसेकाहरूलाई हट्न भनिएपनि सुनुवाइ नभएपछि ७ दिने अल्टिमेटम दिइएको प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले बताइन् ।

उनका अनुसार त्यसरी सार्वजनिक जग्गा हडपेकाहरूले निर्धारित समयमै खाली नगराए बल प्रयोग गरेर हटाइनेछ। 
 
सुकुम्वासी बस्तीलाई हटाउने तयारी अहिले नगरिएको उनले जानकारी दिइन् । 

प्राधिकरणकी विकास आयुक्त ढकालले भनिन्, ‘धोवीखोला, बागमती नदी आसपासका सार्वजनिक जग्गा हडपेर संरचनाहरू बनाइएका छन् ती खाली गर्नू भनिएको हो । सात दिनभित्र खाली गर्न भनेका छौं । थापाथलीको सुकुम्वासी बस्तीलाई अहिले नै हटाउने योजना भने छैन । सुकुम्वासीकालाई यो सूचना जारी गरिएको होइन । सुकुम्बासी समस्या अर्कै समस्या हो । यसको समाधान खोजेर मात्रै हटाउनुपर्छ ।’

काठमाडौं विकास प्राधिकरण र काठमाडौं महानगरले आज सूचना जारी गर्दै त्यस्ता संरचना हटाउन ७ दिने अल्टिमेटम जारी गरेको थियो । 

अतिक्रमित जग्गा तथा मापदण्ड विपरितका संरचना खाली गर्न जारी गरिएको सूचनामा काठमाडौँ महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणको मिति २०८२ असोज २ गते बसेको संयुक्त बैठकबाट निर्णय भएको उल्लेख गरिएको छ ।

सार्वजिक सूचनामा भनिएको छ – ‘सूचना जारी गरी अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरितका संरचना खाली गर्ने/हटाउने निर्णय भएको जानकारी गराइन्छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ के परिच्छेद ७ र दफा ४५ विपरीत भवनजन्य संरचना निर्माण गर्न नहुने र सोही ऐनको दफा ९७ अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्व स्थानीय तहको भएकाले यस विपरीत भए/गरेका कार्यहरू ७ (सात) दिनभित्र हटाइ सहयोग गरिदिनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’ 

काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सीमाना जोडिएका काठमाडौं जिल्ला भित्रका यस्ता सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गर्न भनिएको छ ।  

Share News