मोन्था आँधीको प्रभाव कमजोर बन्दै, केही स्थानमा वर्षाको सम्भावना कायमै

काठमाडौं । बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देश भरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

पहाडी भू-भागमा केही बदली भए पनि बाँकी भू-भागमा भने मौसम आज मुख्यतया सफा रहने विभागले जनाएको छ । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव बलियो भएकाले बदली जारी रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । 

यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

Share News