काठमाडौं । नेपाली कांग्रेसको १५ महाधिवेशनको मिति तोक्ने विषयमा परेको सकस सुल्ट्याउन पदाधिकारी बैठक बसिरहेको छ । आइतबार बिहान ललितपुरको धोबीघाटस्थित एक होटलमा बसेको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा बसेको हो।
बैठकमा आसन्न महाधिवेशनको कार्यतालिकाबारे छलफल भइरहेको एक पदाधिकारीले जानकारी दिए ।
शनिबार बसेको पदाधिकारी बैठकमा पनि यही विषयमा लामो छलफल भए पनि सहमति जुट्न नसकेपछि आइतबार पुनः बैठक बोलाइएको हो ।
महामन्त्री गगन थापाले कार्यतालिका टुंगो नलागे आफू केन्द्रीय समिति बैठकमा सहभागी नहुने अडान सार्वजनिक गर्दै आएका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने पुस १६ देखि १९ गतेभित्रै १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राख्दै आएका छन् ।
उता सभापति शेरबहादुर देउवा पक्षले भने वैशाख महिनाको अन्त्यतिर महाधिवेशन गर्न सकिने मत राखेको छ । कार्यतालिकाबारे सहमति नजुटेकै कारण शुक्रबार बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भएको थियो ।
आजै दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा पुनः बैठक बस्ने कार्यक्रम रहेको छ ।