काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने भागमा भएको जाम अहिले क्रमशः घट्दै गएको छ ।
बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण सडक हिलाम्मे बनेपछि करिब १७ किलोमिटरसम्म जाम पुगेको थियो ।
उक्त जाम अहिले घटेर १ देखि १.५ किलोमिटरमा झरेको जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपालले विकास न्युजलाई जानकारी दिए ।
उनका अनुसार अहिले सवारीसाधनहरू सामान्य गतिमा गुड्न थालेका छन् र ट्राफिक अवस्था बिस्तारै सहज बन्दै गएको छ ।
डीएसपी नेपालका अनुसार धुलो र कालो माटो मिसिएको सडक हिलाम्मे र चिप्लो बनेकाले ठूला गाडीहरूलाई घुम्तीमा मोड्न कठिन भएको र चालकहरूले लेन अनुशासन पालना नगरेकाले पनि समस्या थपिएको हो ।
‘जाम नियन्त्रणका लागि बाहिरबाट २०–२५ जना प्रहरी र १०–१५ जना स्थानीय स्वयंसेवक परिचालन गरेका छौं,’ उनले भने, ‘उनीहरूले लेन अनुशासन कायम राख्ने, चिप्लो सडकमा गाडीलाई सहयोग गर्ने र शौचालय तथा खानेपानी सुविधा भएका ठाउँमा गाडीलाई केहीबेर रोक्दै पालैपालो पठाउने काम गरिरहेका छन् । अब यात्रुहरूलाई लामो समय जाममा बस्नुपर्ने अवस्था छैन ।’
दिउँसो घाम लागेपछि सडक क्रमशः सुक्दै गएको र अवस्था सहज हुँदै गएको पनि डीएसपी नेपालले जानकारी दिए ।
हाल करिब २०० सवारीसाधन क्यूमा रहेर बिस्तारै अघि बढिरहेका छन् । यदि आगामी दिनमा वर्षा नपरेमा सडक पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
ठूला सवारीका लागि बुटवल–पाल्पा हुँदै स्याङ्जा–पोखरा र साना सवारीका लागि कालीगण्डकी करिडोर (जर्कोट–रामपुर) वैकल्पिक मार्गको व्यवस्था भए पनि अहिले मुख्य सडकमार्गमै सवारी आवागमन सहज भइरहेकाले वैकल्पिक मार्ग प्रयोगको खासै आवश्यकता नरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।