नारायणघाट-बुटवल सडक अब दुई महिना एकतर्फी मात्रै सञ्चालन हुने

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग विस्तार अन्तर्गतको नारायणघाट–बुटवल सडकखण्डमा आगामी करिब दुई महिनासम्म सवारीसाधन एकतर्फी मात्र सञ्चालन हुने भएको छ ।

नारायणघाट–बुटवल सडक आयोजनाले सोमबार जारी गरेको सूचनाअनुसार दाउन्ने क्षेत्रमा कल्भर्ट निर्माण कार्य गर्नुपर्ने भएकाले पुस १५ गतेसम्म सडक पूर्ण रूपमा बन्द गरी एकतर्फी सञ्चालन हुने भएको हो ।

हालैको अविरल वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक चिप्लो बनेर यातायात आवागमनमा समस्या देखिएको छ । सवारीको १७ किलोमिटर लामो लाइन लागेको थियो ।

आयोजनाले आगामी दिनमा पुनः वर्षा भएमा थप कठिनाइ हुन सक्ने हुनाले यात्रु र चालकहरूले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । 

कल्भर्ट निर्माण भइरहेका स्थानमा सवारी सञ्चालनमा थप कठिनाइ हुने सम्भावना रहेकोले आयोजनाले दाउन्ने क्षेत्र पार गर्नुअघि जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दुम्कीबाससँग समन्वय गर्न आग्रह गरेको छ।

पुस १५ गतेसम्म सडक पूर्ण रूपमा सञ्चालनमा नआउने भएकाले सम्बन्धित यात्रु, चालक तथा यातायात व्यवसायीहरूलाई सचेत रहन र वैकल्पिक मार्ग छनोट गर्न आग्रह गरिएको छ ।

Share News