‘महामन्त्रीद्वय महिनामा ३ दिनमात्रै कार्यालय आइ काम गरेको भए महाधिवेशनको मिति तय भइसक्थ्यो’

फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीभित्रको महाधिवेशन ढिलाइ र संगठनात्मक असन्तुलनप्रति तीव्र असन्तोष व्यक्त गर्दै पदाधिकारीहरूले आफ्नो जिम्मेवारीप्रति बेवास्ता गरेको आरोप लगाएका छन् । 

उनले पार्टीको प्रजातान्त्रिक चरित्र जोगाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् ।

महरका अनुसार कांग्रेसको आगामी महाधिवेशन समयमै हुन नसक्नुको मुख्य कारण पदाधिकारीहरूको निष्क्रियता हो ।

‘महामन्त्रीहरूले क्रियाशील सदस्यता टुंग्याउने जिम्मेवारी लिएका भए पनि अहिलेसम्म केवल तीन जिल्लाको मात्र सदस्यता अन्तिम रूपमा प्रमाणित भएको छ,’ उनले भने।

महरका अनुसार पार्टीका महामन्त्रीहरू नियमित रूपमा कार्यालयमा उपस्थित नभएकाले संगठनात्मक काम अघि बढ्न नसकेको हो ।

उनले पार्टीभित्र अहिले व्यक्तिगत शक्ति प्रदर्शन बढेको र संस्थागत संस्कृतिमा विचलन आएको बताए ।

महाधिवेशनको सबैभन्दा ठुलो काम सदस्यता नवीकरण र वितरण भएको तर त्यसको जिम्मा लिनुपर्ने महामन्त्रीहरूले वैज्ञानिकरूपमा काम नगरेको महरको आरोप छ । ‘जब पदाधिकारीहरू जिम्मेवारीभन्दा प्रचारमा बढी ध्यान दिन्छन्, त्यो संस्थागत असन्तुलन हो,’ उनले भने ।

तर महर बहस र विवादलाई सकारात्मक रूपमा हेर्नपर्नेमा जोड दिन्छन्  । ‘कांग्रेसमा विचारका आधारमा विवाद हुनु प्रजातान्त्रिक संस्कृतिको हिस्सा हो, व्यक्ति–केन्द्रित विवाद होइन,’ उनले भने ।

पार्टीभित्र असन्तोष फैलाएको आरोपसम्बन्धी प्रश्नमा महरले भने, ‘म आलोचना गर्छु भने त्यो पार्टीविरुद्ध होइन, पार्टीकै सुधारका लागि हो । गल्ती औंल्याउनेलाई असन्तोषी भन्ने परम्परा गलत हो ।’

‘कांग्रेसको आत्मा नै प्रजातन्त्र हो । यदि हामी आफ्नै पार्टीभित्र पारदर्शिता र जवाफदेहिता कायम गर्न सक्दैनौं भने जनतामा त्यो सन्देश कसरी पुर्याउन सक्छौं त,’ उनले प्रश्न गरे ।

जनताले दलप्रतिको विश्वास गुमाउँदै गएको प्रसङ्गमा उनी भन्छन्, विश्वास पुनःस्थापना गर्ने एक मात्र उपाय व्यवहारिक सुधार हो । कांग्रेसले जनताको मुद्दामा केन्द्रित ठोस कार्यक्रम ल्याउनुपर्छ ।’

तपाईंहरू गुटको बैठक गर्दै हिँड्ने अनि अरूलाई दोष दिन मिल्छ भन्ने विकासन्युजको जिज्ञासामा महरले भने, ‘पदाधिकारीहरूले अहिलेसम्म महाधिवेशनको कार्यतालिका ल्याउन नसकेपछि समयमै महाधिवेशन गर्नका लागि हामीले घचघचाएका मात्रै हौं ।’

Share News