काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन कहिले गर्ने भन्ने विवाद चर्किँदै गएको छ । महाधिवेशनको मितिकै विवादले केन्द्रीय समिति बैठक स्थगन हुँदै बस्दै गरेको छ ।
आज बस्ने केन्द्रीय समिति बैठकमा दुई फरक कार्यतालिका पेस हुने एक नेताले जानकारी दिए । ती नेताका अनुसार महामन्त्री गगन थापाले मंसिरमा नसके पनि पुसभित्र महाधिवेशन गर्ने प्रस्ताव ल्याउन लागेका छन् ।
उनका अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनअघि नै नयाँ नेतृत्व चयन गरी पार्टीलाई नयाँ ऊर्जा दिन जरुरी छ ।
थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माको समेत साथ रहेको ती नेताले बताए । तर संस्थापन पक्ष भने चुनावअघि महाधिवेशन सम्भव नभएको अडानमा अडिग छ । हिजो बसेको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले वैशाख २५ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पारित गरी आजकै बैठकमा लैजाने निर्णय गरेको छ।
यसअघि कार्यतालिका पेस गर्ने सहमति नजुटेपछि महामन्त्री थापाले बैठक बहिष्कार गरेका थिए । त्यसयता स्थगित बैठक आज पुनः बस्न लागेको हो ।
पार्टीभित्र अब नेतृत्व परिवर्तनको माग र संस्थागत निरन्तरताको अडानबीच शक्ति परीक्षण हुने देखिएको ती नेताले जानकारी दिए । आजको बैठकले महाधिवेशनको मिति मात्र होइन, पार्टीको आगामी राजनीतिक बाटो पनि निर्धारण गर्ने अनुमान गरिएको छ ।