काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिलिपि नागरिकता उपलब्ध गराउने निर्णय गरेको छ ।
भण्डारीको नागरिकता भदौको जेनजी आन्दोलनको क्रममा निजी निवासमा भएको आगजनीमा जलेको थियो । त्यसपछि उनले नयाँ प्रतिलिपि नागरिकता पाउनका लागि जिल्ला प्रशासन कार्यालयमा औपचारिक निवेदन दिएकी थिइन् ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार प्रतिलिपि नागरिकता दिने निर्णयका लागि विभिन्न सरकारी निकायमा रहेका फोटोकपी र डिजिटल डाटासँग मिलान गरिएको हो ।
उनले भने, ‘फाइलहरू र अभिलेखहरू अध्ययन गर्दा सबै विवरण मिलेकाले प्रतिलिपि नागरिकता उपलब्ध गराउने प्रक्रिया पूरा भएको छ ।’
मंगलबार २ बजे भण्डारीलाई नागरिकताको प्रतिलिपि दिइने तय भएको रिजालले जानकारी दिए ।
पूर्वराष्ट्रपति भण्डारीको नागरिकता जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता रहेको थियो ।
तोडफोड र आगजनीमा नष्ट भएका कागजातहरूमध्ये उनको नागरिकता पनि परेको प्रशासनले जनाएको छ ।
हाल प्रतिलिपि नागरिकता वितरण प्रक्रिया पूरा भइसकेको र सोसम्बन्धी प्रशासनिक कार्य अन्तिम चरणमा रहेको रिजालले जानकारी गराए ।