काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र आएका विभिन्न विचार र मतभेदहरूलाई सहमतिमा टुंगो लगाउने प्रयास भइरहेको जानकारी गराएका छन् ।
जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गदै खड्काले महाधिवेशनको मितिसमेत सहमतिमा तोकिने बताएका हुन् ।
जारी बैठकमा संस्थापन इतरपक्षले पुष १६ मा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ । यस्तै, संस्थापनपक्षले नियमित महाधिवेशन आगामी २७ देखि ३० वैशाखसम्म सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।
कार्यवाहक सभापति खड्काले यी दुई मितिबाट मध्यमार्गी बाटो अवलम्वन गर्न सकिनेतर्फ संकेत गरेका छन् ।
समग्रमा नेपाली कांग्रेस हाल आन्तरिक एकता कायम गर्ने, नेतृत्व र नीतिगत मुद्दामा सहमति जुटाउने र समयमै महाधिवेशन सम्पन्न गर्ने प्रयासमा रहेको खड्काको दाबी रहेको छ ।