काठमाडौं । नेपाल-भारतको उर्जा क्षेत्रका सह-सचिव स्तरीय संयुक्त वार्ता टोलीले विभिन्न ७ बुँदे सहमति गरेका छन् । नेपाल-भारत सह-सचिव स्तरीय संयुक्त प्राविधिक टोलीको १७औं बैठकले विभिन्न ७ बुँदे सहमति गरेका हुन् ।
नेपालबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारतबाट केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर भगवान सहाय बैरवाको सह-अध्यक्षतामा कात्तिक १७ र १८ गते पोखरामा बैठक सम्पन्न भएको थियो । उक्त बैठकमा दुवै देश बीचको विद्युत आदान-प्रदान, प्रसारण प्रणालीको सुदृढीकरण तथा नयाँ अन्तर्देशीय प्रसारण लाइन निर्माणका विषयमा विस्तृत छलफल भएको थियो ।
यी मुद्दामा सहमति भयो
१. चमेलिया-जौलजिवी २२० के.भी. डबल सर्किट प्रसारण लाइनको नेपाल र भारतले आ-आफ्नो तर्फको प्रसारण लाइनको तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन प्रस्तुत गरेको र संयुक्त प्राविधिक टोलीले दुवै देशको संयुक्त डीपीआर नोभेम्बर २०२५ भित्र तयार गर्ने सहमति भएको । दुवै देशबीच उक्त प्रशारण लाइन २०२७ डिसेम्बरसम्म सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउने ।
२. नयाँ बुटवल-गोरखपुर ४०० के.भी. लाइनलाई अस्थायी रूपमा २२० के.भी.मा सञ्चालन गर्ने व्यवस्था मिलाउने । उक्त प्रसारण लाइन मार्फत विद्युत आयात-निर्यात क्षमताको सम्बन्धमा उत्तर प्रदेश ट्रान्समिशन कम्पनीसँग थप बैठक १५ दिनभित्र गर्ने सहमति भएको ।
३. ढल्केवर-मुजफ्फरपुर र ढल्केवर-सितामढी लाइनमार्फत विद्युत आदान-प्रदान क्षमताको पुनर्मूल्यांकन भयो । जसअनुसार नेपालले नेपालबाट १,५०० मेगावाटसम्म विद्युत निर्यात र १,४०० मेगावाटसम्म आयात गर्न सक्ने क्षमता कायम भएको ।
४. निजगढ-मोतीहारी ४०० के.भी. डबल सर्किट लाइनको डीपीआर तयारीको लागि नेपालले आवश्यक प्राविधिक विवरण एक महिनाभित्र उपलब्ध गराउने र संयुक्त प्राविधिक टोलीले दुवै देशको संयुक्त डीपीआर तयार गर्ने ।
५. लमही-लक्नउ ४०० के.भी. लाइनको नेपालतर्फको टर्मिनेशन बिन्दु लामाही वा कोहलपुर सम्बन्धी अन्तिम अध्ययन संयुक्त रूपमा गरी डीपीआर तयार गर्ने ।
६. ढल्केवर-मुजफ्फरपुर ४०० के.भी. लाइनको रिकण्डक्टरिङमा उच्च तापक्रम सहनसक्ने प्रविधि अपनाउने विषयमा डीपीआर तयारी अघि बढाउने ।
७. रक्सौल-परवानीपुर र रामनगर-गण्डक १३२ के.भी. लाइनहरूको क्षमता अभिवृद्धि गर्न यी लाइनहरूको कन्डक्टर एचटीएलएस कन्डक्टरले प्रतिस्थापन गर्न संयुक्त रुपमा अध्ययन गर्ने ।