जागिरको प्रलोभन देखाएर आमाछोरी नै ठगीमा लागेपछि...

काठमाडौं । बेरोजगार युवाहरूको सपना र विश्वास लिएर आमा–छोरीले न्यायको मन्दिर मानिने अदालतकै नाममा ठगी गरेका छन् । रोजगारीको लोभ देखाएर लाखौं ठगी भएको हो । 

मोरङ जिल्ला प्रहरी कार्यालयले अदालतको नाममा ठगी गर्ने आमा–छोरी समूहको पर्दाफास गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक कोपिला चुडालका अनुसार जिल्ला अदालतमा जागिर लगाइदिने प्रलोभन देखाएर युवायुवतीसँग रकम असुल्ने गिरोहका दुई सदस्य पक्राउ परेका हुन् । 

पक्राउ परेकाहरू सिरहाको लहानकी ५० वर्षीया पुनमदेवी साह र उनकी २७ वर्षीया छोरी कोमलकुमारी साह रहेको प्रवक्ता चुडालले जानकारी दिइन् । प्रहरीले उनीहरूले अदालतको नक्कली लेटरहेड, छाप र परिचयपत्र बनाएर ५० भन्दा बढी व्यक्ति ठगेको प्रमाण भेटिएको जनाएको छ ।

प्रवक्ता चुडालका अनुसार भारतमा बिहे गरेर माईतमा बस्दै आएकी कोमलकुमारी यस योजनाको प्रमुख अभियुक्त रहेको प्रहरीको दाबी छ । उनी स्थानीय एक ल फर्मको कर्मचारी रहेको र सोहस् अनुभवको आधारमा उनले मोरङ जिल्ला अदालतका दस्तावेज र प्रक्रिया बारेको जानकारीको भरमा नक्कली सूचना तयार गर्ने गरेको खुलेको हो ।  

कोमलले नायव सुब्बा, खरिदार र कार्यालय सहयोगी पदको भर्ना खुलाइएको भनि विभिन्न सामाजिक सञ्जालका एपमार्फत प्रचार गर्ने गर्थिन् । कोमलले बेरोजगार युवायुवतीलाई आफू अदालतकी कर्मचारी भनेर जागिर पक्काको आश्वासन दिने गरेको पाइएको चुडालले जानकारी दिइन् ।

चुडालका अनुसार ७० भन्दा धेरै उजुरीको आधारमा कात्तिक १४ गते उनीहरुलाई पक्राउ गरिएको हो । अहिलेसम्म पनि उजुरी आउनेक्रम जारी रहेको चुडालले बताइन् ।

ती व्यक्तिले गत साउन १२ गते प्रथम पटक प्रकाशित सूचना भन्दै नायव सुब्बा १५ जना, कार्यालय सहयोगी २२ जना र चालक ५ जना पदमा करारमा भर्ना खुलाइएको भ्रामक सूचना प्रचार गरेको पाइएको छ ।

पीडितहरूका अनुसार कार्यालय सहयोगीका लागि २ हजार ५७५, खरिदारका लागि ५ हजार ५७५ र नायव सुब्बाका लागि ७ हजार ५७५ रुपैयाँ शुल्क लिएर आवेदन लिइएको थियो । रकम पुनम देवीको ई–सेवा खातामा पठाइने गरेको चुडालले बताइन् । पैसा बुझाएपछि नक्कली नियुक्तिपत्र देखाइन्थ्यो । अदालतको छाप र लेटर हेडसहितको नियुक्ती पत्र पाएपछि बेरोजगार युवाहरु यसै मख्ख परेर एकले अर्कोलाइ खबर गरेकाले पिडितको संख्या बढेको चुडालले जानकारी दिइन् ।

विशेष टोली गठन गरी अनुसन्धान गरेको प्रहरीले ई–सेवा खाताबाट भएको लेनदेन, फोन कल डिटेल र सामाजिक सञ्जालको कुराकानी अध्ययन गरी आमाछोरीलाई विराटनगरबाट पक्राउ गरेको हो ।

प्रवक्ता चुडालका अनुसार यो सामान्य ठगी होइन, अदालतको संवेदनशील नामको दुरुपयोग गरी गरिएको गम्भीर अपराध हो । आमा–छोरीमाथि ठगी, किर्ते र सरकारी छापको दुरुपयोगमा अनुसन्धान भइरहेको चुडालले जानकारी दिइन् ।

पीडित विराटनगर–१२ की निलमकुमारी चौधरीले भनिन्, ‘सरकारी जागिरको लोभ देखाएर हाम्रो सपना र पसिनाको पैसा दुवै लुटियो । यस्तो अपराध गर्नेलाई कडा सजाय हुनुपर्छ, ताकि अरू कोही नठगिउन् ।’

Share News