काठमाडौं । युनिग्लोब कलेज, कमलादी काठमाडौंमा बिहीबारदेखि तीन दिने युनिग्लोब मोडेल युनाइटेड नेसन्स २०२५ को औपचारिक सुरुवात भएको छ । यो सम्मेलन नोभेम्बर ८ सम्म सञ्चालन हुने कलेजले जानकारी दिएको छ ।
यस वर्षको सम्मेलनमा नेपालभरिबाट साथै भारत र म्यानमारबाट समेत कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको छ ।
सम्मेलनको उद्घाटन समारोहमा मुख्य अतिथिको रूपमा सशस्त्र प्रहरी बल, नेपालका पूर्व महानिरीक्षक (आइजिपी) शैलेन्द्र खनाल उपस्थित भए।
यस वर्षको सम्मेलनमा आणविक निशस्त्रीकरणदेखि लैङ्गिक समानता, जलवायु परिवर्तन र आर्थिक स्थिरतासम्मका विश्वव्यापी महत्त्वपूर्ण मुद्दाहरूमा केन्द्रित १२ विविध समितिहरू रहेका छन् ।
सम्मेलनका बाँकी दुई दिनमा थप गहन छलफल र समाधानमुखी प्रस्ताव आउने कलेजले अपेक्षा गरेको छ ।
यो सम्मेलनले युवापुस्तालाई विश्वव्यापी मुद्दाहरूबारे तर्कपूर्ण रुपमा सोच्न मद्दत गर्ने जनाइएको छ ।