काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५ औं महाधिवेशन पुष २१ मा गर्ने प्रस्ताव गरेका छन् । शुक्रबार बिहान आफूनिकट नेताहरूको भेटमा कोइरालाले उक्त प्रस्ताव गरेका हुन् ।
पार्टीभित्र महाधिवेशनको मितिमा किचलो चलेको बेला आफूलाई भेट्न आएका केन्द्रीय नेता, जिल्ला सभापति र पूर्व जिल्ला सभापतिहरूसँगको संवादमा कोइरालाले आफू नियमित महाधिवेशनकै पक्षमा रहेको बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
विगत दुई बर्षदेखि आफू नियमित महाधिवेशनको माग गरेको कोइरालालाई उद्धृत गर्दै ती सदस्यले भने, ‘अहिले पनि शेखर दाजु नियमित महाधिवेशनकै पक्षमा हुनुहुन्छ ।’
विशेष महाधिवेशन गर्नैपर्ने अवस्था आए केन्द्रीय समितिले निर्णय गरेर मात्रै गर्नुपर्ने कोइरालाले आफूहरूलाई भनेको ती नेताले बताए ।
नियमित महाधिवेशन नगर्ने र हस्ताक्षरको भरमा विशेष महाधिवेशन गर्दा पार्टी विभाजन हुनसक्ने भएकोले विशेष महाधिवेशन गर्ने परे केन्द्रीय समितिले निर्णय गर्नुपर्नेमा कोइरालाको जोड रहेको छ ।
नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले पुष १६ मा र सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ मा महाधिवेशन मिति प्रस्ताव गरेका छन् ।