बनेपाबाट सुरु भयो लाइसेन्स छपाइ, ६ महिनामा १२ लाखले पाउने

काठमाडौं । लामो प्रतीक्षापछि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ अन्ततः सुरु भएको छ । शुक्रबार बनेपास्थित सुरक्षण मुद्रण केन्द्रमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बटम थिचेर औपचारिक रूपमा छपाइको शुभारम्भ गरे ।

योसँगै लामो समयदेखि रोकिएको लाइसेन्स वितरण प्रक्रियामा नयाँ ऊर्जा थपिएको छ । मुद्रण केन्द्रले लाइसेन्स छाप्न थालेको यो इतिहासमै पहिलोपटक हो । 

शुभारम्भपछि मन्त्री खरेलले भने, ‘अब नेपाली नागरिकले आफ्नै देशमै छापिएको सुरक्षित र गुणस्तरीय लाइसेन्स पाउनेछन्, यो आत्मनिर्भर प्रविधितर्फको ठूलो उपलब्धि हो ।’

उनले पूर्वाधार र स्रोत साधन भए पनि छपाइ गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाइ सुरु गरिएको बताए । पहिलो चरणमा १२ लाखप्रति छपाइको सम्झौता भएअनुरूप आजबाट काम सुरु गरिएको हो । सुरुमा दैनिक ५ सय छाप्ने र यसको मात्रा बढाउँदै लगिने केन्द्रले जनाएको छ ।

सुरक्षण मुद्रण केन्द्रले अत्याधुनिक प्रविधिबाट लाइसेन्स छाप्ने व्यवस्था गरेको छ । मन्त्रालयका अनुसार अब दैनिक हजारौं लाइसेन्स छाप्ने क्षमता रहेको र केही साताभित्र नै वितरणको काम तीव्र गतिमा अघि बढाइनेछ ।

मन्त्रालयका अनुसार वर्षौंदेखि सुरक्षण मुद्रण केन्द्र अन्तर्गतका मेसिन त्यत्तिकै थन्किएका थिए । मेसिन र पार्टपूर्जा सबै धुलाम्मे थिए । ठाउँ नै खण्डहर जस्तो बनेको थियो । धुलो टकटक्याएर छपाइ थालेको शुक्रबारदेखि थालिएको हो । 

केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने जनाइएको छ । 

मन्त्रालयले २८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था रहेको जनाएको छ । लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका छपाइ सधैं विदेशी कम्पनीलाई ठेक्का दिएर छाप्ने गरिएको थियो ।

यसअघि प्राविधिक समस्या र ठेक्का प्रक्रियाको ढिलाइका कारण लाइसेन्स छपाइ लामो समयदेखि रोकिएको थियो ।

Share News